
निखिल उप्रेती, विराज भट्ट, भुवन केसीलगायतका अभिनेताले आफूलाई निर्देशकको रुपमा पनि उभ्याइसकेको अवस्थामा अर्का एक अभिनेताले निर्देशनमा हात हालेका छन् । ‘लंका’, ‘रावण’, ‘उवर्शी’ लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेका किशोर खतिवडाले फिल्म ‘एल हाउस’ को निर्देशन गरेका छन्, जसको केही दिन अगाडि ट्रेलर सार्वजनिक भएको छ ।
फिल्मको ट्रेलरमा लकडाउनको समयमा आम जनताले जीविको पार्जनका लागि गर्नुपरेको संघर्ष देखाइएको छ । तर, ट्रेलर अत्यन्त कमजोर छ । कलाकारहरुको अभिनय पनि नाटकीय लाग्छ । फिल्मको मेकिङ उस्तै कमजोर छ । २ मिनेट ४३ सेकेण्डको ट्रेलर दर्शकलाई इन्गेजिङ बनाउन पूर्ण रुपमा चुकेको छ । फिल्मको कथा किशोर स्वयंले तयार पारेका हुन् ।
लकडाउनको समयमा छायांकन गरिएको फिल्ममा किशोरसँगै रनिला श्रेष्ठ, दीप कुलुङ, रितेश श्रेष्ठ, गोविन्द लामा, गंगा कुँवर, महेन्द्रकुमार राई, पदम सुनार, प्रवेश लिम्बु, बसन्त बर्मालगायतको अभिनय छ । स्थिति सामान्य भएपछि प्रदर्शन हुने बताइएको फिल्ममा दिवश गुरुङको छायांकन, देव महर्जनको द्वन्द्व, राजन महर्जनको कोरियोग्राफी र सुवास देवकोटाको सम्पादन छ ।
शत्रुधन अन्सारी तथा राम महर्जनले निर्माण गरेको फिल्मका प्रस्तुतकर्ता कला राई हुन् । फिल्मका गीतमा शब्द तथा संगीत इश्वर खड्का र छायाँ प्रसाईँको छ । अभिनेताको रुपमा असफल मानिएका किशोरलाई ‘एल हाउस’ ले निर्देशकको रुपमा स्थापित गर्ला ? यसको भने प्रतिक्षा गर्नैपर्ने हुन्छ । ट्रेलर हेर्दा भने उनलाई निर्देशकको रुपमा पनि सफलता मिल्ने सम्भावना न्यून देखिन्छ ।
ट्रेलर :-

