.jpg)
अर्पण थापा निर्देशित हरर फिल्म ‘घर’ पछि अभिनेत्री बेनिशा हमालले नयाँ फिल्ममा काम गरेकी छैनन् । लकडाउन हुनुभन्दा अगाडि उनी भारतको मुम्बईमा बसेर फिल्म मेकिङको अध्ययन गरिरहेकी थिइन् । कोरोनाका कारण अध्ययन रोकिएपछि नेपाल फर्किएकी उनी स्थिति सामान्य भएपछि फिल्म ‘झ्यानाकुटी २’ मा काम गर्दैछिन् । यसको अघिल्लो श्रृंखलामा पनि उनी नै थिइन् ।
एक दशक लामो करिअरमा उनले एक दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । तर, दुर्भाग्य के भने, उनले हिट फिल्मको सुख प्राप्त गर्न सकेकी छैनन् । त्यसैले उनलाई फिल्म क्षेत्रमा ‘अनलक्की नायिका’ भन्ने गरिएको छ । यो छाप मेट्नका लागि पनि उनलाई एक हिट फिल्मको खाँचो छ । यसबीच, उनले मल्टीस्टारर फिल्म ‘हुतुतु’ मा काम गर्न लागेको चर्चा चलेको छ ।
शनिवार ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनको जन्मदिनमा उनी पनि पुगेकी थिइन् । निर्माता सेनलाई बर्थडे केक खुवाएको तस्विर सार्वजनिक भएपछि बेनिशाले कमेडी फिल्म ‘हुतुतु’ मा काम गर्न लागेको अड्कलबाजी गरिएको छ । यस विषयमा निर्माता सेन भन्छन्, ‘उहाँ साथीसँग मेरो बर्थडे सेलिब्रेसनमा आउनुभएको थियो । फिल्मको बारेमा उहाँसँग कुनै कुरा भएको छैन ।’
छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने फिल्ममा हरिवंश आचार्य, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय रहनेछ । फिल्ममा एकजना मात्र अभिनेत्री हुने बताइएको छ । स्थिति सामान्य भएपछि फ्लोरमा जाने फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको छ । फिल्मलाई लिएर सबै कलाकार उत्साहित छन् ।

