Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्राविधिकलाई जोगाइराख्नु अहिलेको ठूलो चुनौती : प्रशान्त

फिल्मीखबर, काठमाण्डौ, 2020/08/28
२०७२ सालमा गएको महाभूकम्पपछि मुश्किलले तंग्रिएको नेपाली फिल्म क्षेत्र यतिबेला कोरोना भाइरसको महामारीले थिलथिलो बनेको छ । विगत पाँच महिनायता फिल्म निर्माण र प्रदर्शन भएका छैनन् । सम्भवतः यति लामो समय यसअघि फिल्म क्षेत्रले कहिल्यै विश्राम लिएको थिएन । फिल्म सम्बन्धि सबै काम रोकिँदा यस क्षेत्रमा आश्रित हजारौं बेरोजगार भएका छन् । 
 
 
कोरोनाका कारण फिल्म निर्माण रोकिएपछि सबैभन्दा समस्या प्राविधिकहरुलाई भएको छ । फिल्ममा काम गरेर परिवारको गुजरा चलाउँदै आएका उनीहरुलाई अहिले विहान बेलुकाको छाक टार्न समेत मुश्किल हुन थालेको छ । तर, उनीहरुको जीवनरक्षाका लागि न फिल्मसँग सम्बन्धित संघ संस्थाहरु गम्भीर देखिएका छन् न त सरकारले नै कुनै राहतको प्याकेज घोषणा गरेको छ ।
 
यो अवस्थाबाट फिल्म क्षेत्र कहिले मुक्त होला ? अन्योलस्थिति छ । अभिनेता प्रशान्त ताम्राकार फिल्म क्षेत्र पुरानो अवस्थामा कहिले फर्किन्छ भन्न अहिले नै गाह्रो हुने बताउँछन् । यो अवस्थामा कलाकारहरुले जसोतसो सर्भाइभ गरे पनि प्राविधिकहरुलाई समस्या रहेको उनको भनाई छ । यसका लागि फिल्म सम्बद्ध संघ संस्थासँग सहकार्य गरेर सरकारले सहयोग गर्नुपर्ने उनको सुझाव छ ।
 
 
उनी भन्छन्, ‘प्राविधिकहरु ६ महिनायता कामविहीन छन् । अझै एक वर्ष फिल्म निर्माण नभए उनीहरुले आफूलाई कसरी सर्भाइभ गर्छन् भन्ने अहिलेको जटिल प्रश्न हो । कति प्राविधिकले २०औं वर्षदेखि यही क्षेत्रमा रहेर काम गरेका छन् । उहाँहरु यो क्षेत्रभन्दा बाहिर बसेर काम पनि गर्न सक्नुहुन्न । उहाँहरुलाई कसरी यही क्षेत्रलाई जोगाइराख्ने भन्ने अहिलेको सबैभन्दा ठूलो चुनौती छ ।’ 
 
फिल्म क्षेत्र सञ्चालनमा आएपछि निर्माताको लगानी सुरक्षित हुने वातावरण सिर्जना गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । निर्माता बाँचे कलाकार तथा प्राविधिकको घरमा चुलो बल्ने उनी बताउँछन् । उनले फिल्म क्षेत्रलाई निकास दिन सरकारले विशेष योजना ल्याउनु पर्ने पनि बताएका छन् । यो कठिन परिस्थितिमा फिल्म क्षेत्रलाई राज्यको सहयोगको खाँचो रहेको उनको भनाई छ ।
 
‘डान्सिङ विथ द स्टार्स’ मा सहभागिता जनाउनका लागि रिहर्सनमा व्यस्त रहेका प्रशान्त कोरोनाका कारण आफूले अब के काम गर्ने भनेर सोच्न पनि नसकेको बताउँछन् । उनी भन्छन्, ‘दिमागमा केही सोच नै आएको छैन । म योभन्दा अगाडि २ वर्षका लागि व्यस्त थिएँ । त्यतिबेला अरु सोच्ने समय नै मिलेन । अहिले सबै ठप्प हुँदा एकदमै अन्योल छ । केही सुरु गर्न पनि माहोल छैन ।’ 
 
 
कोरोनाका कारण धेरै मानिस डिप्रेसनमा गएर आत्महत्या गरिरहेको उल्लेख गर्दै उनले थपे- ‘यस्ता कुरा मेरो दिमागमा नआयोस् भन्नका लागि पनि ‘डान्सिङ विथ द स्टार्स’ मा सहभागिता जनाउन लागेको हुँ । समयको सदुपयोग गर्न पनि राम्रो प्लेटफर्म पाएको छु ।’ फिल्म ‘ऐश्वर्य’ मा अभिनय गरेपछि लाइमलाइटमा आएका उनी पछिल्लो पटक फिल्म ‘क्याप्टेन’ मा देखिएका थिए ।
Most Visited News (monthly)