 (2)(1).jpg)
कोरोना भाइरसले संसारभर भयावह रुप लिइरहेको अवस्थामा परदेशमा रहेका नेपालीहरुलाई आफ्नो जन्मथलोको सम्झनाले सताइरहेको छ । धन कमाउने सपनाको भारी बोकेर परदेशिएका अधिकांश युवा-युवतीहरु यो समय परिवारसँग बस्न चाहेका छन् । तर, समय अनुकूल नहुँदा उनीहरु चाहेर पनि स्वदेश फर्किन पाएका छैनन् । यो अवस्था कहिलेसम्म रहन्छ, कुनै टुंगो छैन ।
रोजगारीको शिलशिलामा देशका विभिन्न ठाउँमा रहेका नेपालीहरु पनि यतिबेला आफू जन्मिएको गाउँ फर्किन पाएका छैनन् । कोरोनाका कारण यातायात ठप्प हुँदा जो जहाँ छ, त्यही सुरक्षितसँग बस्नुपर्ने बाध्यता छ । चैतदेखि सरकारले लकडाउन गरेपछि देशभित्रै रहेका कति पैदल वा व्यक्तिगत सवारी साधानबाट घर फर्किए । कतिले भने संक्रमण फैलिने डरले शहर छाडेनन् ।
लामो समयदेखि गाउँ जान नपाउँदा कलाकार खगेन्द्र लामिछानेलाई निकै छट्पटी भइरहेको छ । स्याङ्जामा जन्मे-हुर्केका उनी कामबाट फुर्सद मिल्ने वितिक्कै गाउँ फर्किने गरेका थिए । तर, कोरोनाको त्रासका कारण उनी राजधानीको कोठाभित्र नजरबन्द भएको पाँच महिनाभन्दा बढी भइसकेको छ । उनी आजकाल सपनामा पनि गाउँको खेतीबारीमा काम गरेको देख्ने गर्छन् रे ।
शुक्रवार खगेन्द्रले ट्विटरमा गाउँको एक तस्विर पोस्ट गर्दै लेखेका छन्, ‘मेरो प्यारो गाउँ आँखामा घुमिरहेको छ । चाहेको बेला गाउँ जान नसक्ने भएपछि मंगल ग्रहमा हुनु र यहीँ हुनुमा खासै फरक हुँदो रैनछ । तर, कोरोनालाई परास्त गर्नलाई यति त गर्नैपर्छ । सुरक्षित रहनुहोला ।’ यो समयमा गाउँ फर्किनु ठीक नहुने र कोरोनाविरुद्ध लड्न एकै स्थानमा बस्नु पर्ने उनको भनाई छ ।
 (2)(2).jpg)
लकडाउनभन्दा अगाडि कलाकार लामिछाने फिल्म ‘पानीफोटो’ को सम्पादनमा व्यस्त थिए । यो फिल्मलाई उनी आफैंले निर्देशन गरेका हुन् । गएको साउन ३० गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, कोरोनाका कारण फिल्मको प्रदर्शन स्थगित भयो । उनले पहिलो पटक फिल्म निर्देशनमा हात हालेका कारण ‘पानीफोटो’ प्रति दर्शकको आशा र अपेक्षा उच्च छ ।

