Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपेन्द्रको ‘चिसो मान्छे’ मा स्वस्तिमा !

फिल्मीखबर, काठमाण्डौ, 2020/08/27
 
गत वर्षको व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल फिल्म ‘आमा’ पछि निर्देशक दीपेन्द्र के. खनाल नयाँ फिल्मको तयारीमा छन् । लकडाउन अन्त्य भएपछि उनले चलचित्र विकास बोर्डमा दुई चलचित्र ‘चिसो मान्छे र लकडाउन’ दर्ता गरेका थिए । जसमध्ये पहिला ‘चिसो मान्छे’ निर्माण हुनेछ । लकडाउनयता घरमै बसेर निर्देशक खनाल यो फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । 
 
स्थिति सामान्य भएपछि छायांकनमा जाने बताइएको फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का लिड रोलमा अनुबन्धित भएको जानकारी प्राप्त भएको छ । तर, निर्देशक खनाल एक चरण कुराकानी भए पनि फाइनल नभएको बताउँछन् । उनले भने- ‘स्वस्तिमासँग एक पटक कुराकानी भएको थियो । निषेधाज्ञा भएपछि अरु छलफल हुन पाएको छैन । यद्यपि, फिल्ममा उनी हुने सम्भावना प्रवल छ ।’
 
दीपेन्द्रले यसअघि स्वस्तिमालाई लिएर फिल्म ‘लभ लभ लभ’ बनाएका थिए । ‘चिसो मान्छे’ मा काम गर्नका लागि स्वस्तिमा सकारात्मक रहेको बुझिएको छ । उनलाई आफ्नो भूमिका मन परेको छ । सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्मलाई सर्मिला पाण्डेले निर्माण गर्नेछिन् । फिल्मलाई निर्देशक खनाल आफैंले खिच्दैछन् । ‘आमा’ को छायांकन पनि उनले नै गरेका थिए । 
 
आउँदो वर्षको भदौ ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको सुदूरपश्चिमका विभिन्न भेगमा छायांकन हुने जानकारी प्राप्त छ । फिल्ममा सुदूरपश्चिम भेगको परिवेश र लबज प्रयोग गरिँदैछ । समाजभित्रको कथालाई गहन ढंगले पर्दामा प्रस्तुत गर्न सिपालु मानिने निर्देशक खनालले ‘चिसो मान्छे’ मा पछिल्लो समय मानिसहरु कसरी स्वार्थी भइरहेका छन् भन्ने कथा पेश गर्दैछन् । 
Most Visited News (monthly)