Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

दीपकराजको व्यंग्यले तरंगित सामाजिक सञ्जाल

फिल्मीखबर, काठमाडौं, 2020/08/26
वर्षौंदेखि भयावह रुप लिइरहेको लोडसेडिङलाई अन्त्य गर्ने प्रमुख पात्र हुन्, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । चार वर्षअघिसम्म देशमा दैनिक १८ घण्टासम्म लोडसेडिङ थियो । जब उनी प्राधिकरण प्रमुखमा नियुक्त भए, त्यसको केही समयपछि देश लोडसेडिङ मुक्त भयो । उनले घाटामा रहेको प्राधिकरणलाई अर्बौं नाफा पनि दिलाएका छन् । 
 
 
देशलाई उज्यालो बनाएका कुलमानको यही भदौ २९ गते चार वर्षे कार्यकाल सकिँदैछ । यतिबेला सामाजिक सञ्जालमा उनलाई नै पुनः प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिनुपर्ने भन्दै आवाज उठिरहेको छ । यसमा कलाकारहरुले पनि खुलेर समर्थन जनाएका छन् । हरिवंश आचार्यदेखि करिश्मा मानन्धरसम्मले कुलमानलाई दोहोर्‍याउन सरकारसँग माग गरेका छन् । 
 
मंगलवार दिउँसो कुलमान पुनः प्राधिकरण प्रमुखमा दोहोरिएको खबर एकाएक फैलियो । तर, यसमा कुनै सत्यता थिएन । उनको बारेमा भ्रामक खबर फैलाएको भन्दै अहिले सामाजिक सञ्जाल प्रयोगकर्ता कलाकार दीपकराज गिरीमाथि खनिएका छन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै प्राधिकरणमा कुलमानलाई निरन्तरता दिने मन्त्रीपरिषद्ले निर्णय गरेको उल्लेख गरेका थिए । 
 
उनले लेखेका थिए, ‘आज बसेको मन्त्रीपरिषद् बैठकले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ । सरकारसँग यस्तै आशयको समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन ।’ उनले पहिलो वाक्यमा प्राधिकरणमा पुनः कुलमान दोहोरिएको उल्लेख गरेका छन् । तर, उनले लेखेको स्टाटसको अन्तिम वाक्य फरक छ ।
 
उनले स्टाटसको दोस्रो वाक्यमा ‘आशय’ शब्द प्रयोग गरेका छन्, जसले कुलमानको नियुक्तिबारे कुनै निर्णय नभएको बुझाउँछ । उनले प्राधिकरणमा कुलमानलाई निरन्तरता दिएर जनताको पक्षमा उभिनुको सरकारसँग विकल्प नभएको बताउन खोजेका छन् । तर, दीपकराजको व्यंग्यात्मक स्टाटसको भाव नबुझ्दा धेरैले भ्रामक खबर फैलाएको भन्दै उनीलाई गाली गरिरहेका छन् । 
 

 

आफूले लेखेको स्टाटसबाट धेरै झुक्किएपछि उनले सरकारले पुनः प्राधिकरणमा कुलमानलाई निरन्तरता दिनुपर्छ भन्ने आफ्नो आशय रहेको बताएका छन् । उनले उक्त पोस्टको कमेन्टमा लेखेका छन्, ‘केही साथीहरू झुक्किनु भएछ । यस्तै निर्णय सरकारले गर्नुपर्छ भनिएको छ, निर्णय भएको छैन । तर केही छैन, तपाईहरूको यो चासोले थप दवाव श्रृजना गर्नमा मद्दत पुग्नेछ ।’
Most Visited News (monthly)