 2(1)(1).jpg)
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि फिल्ममा काम गरेर परिवारको गुजरा चलाउँदै आएका हजारौं प्राविधिकको रोजीरोटी गुम्यो । आर्थिक अवस्था कमजोर भएका प्राविधिकलाई बिहान बेलुका हातमुख जोड्न पनि समस्या भएपछि अभिनेता पल शाहले ५ लाख बराबरको खाद्यन्न सहयोग गरे । उनको यो कार्यको फिल्मकर्मी र दर्शकले प्रशंसा गरेका थिए ।
लकडाउन खुकुलो भएपछि एक दर्जन बढी म्यूजिक भिडियोको छायांकन भ्याएका उनले देशभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थिति सामान्य नभएसम्म भिडियोमा काम नगर्ने घोषणा गरे । यसबीच, उनी बाढी पीडितका लागि राहत बोकेर कालिकोट लागेका छन् । शनिवार उनले बाढी पहिरोका कारण जनधनको नोक्सान भएका परिवारलाई राहत वितरण गर्दैछन् ।
काठमाडौंबाटै खाद्यान्न र लत्ता कपडा बोकेर कालिकोट प्रस्थान गरेका उनले कालिकोटका ४० घर परिवारलाई राहत वितरण गर्ने बुझिएको छ । पलले सामाजिक कार्य गर्नका लागि आफ्नो नाममा खडा गरेको पल शाह प्रतिष्ठानले हाम्रो टिम नेपालसँग सहकार्य गरेर राहत वितरण गर्न लागेको हो । पलका अनुसार, कालिकोटपछि आछामका बाढी पीडितलाई पनि राहत वितरण गरिनेछ ।
कोभिड १९ का कारण रोजीरोटी गुमेका प्राविधिकलाई सहयोग गरेपछि बाढी पीडितको पीडामा मलहम लगाउन कालिकोट पुगेका पल अब सामाजिक कार्यलाई निरन्तरता दिने सोचमा छन् । संघर्षको समयमा आफूले दुःख र अभावसँग जुधेका कारण अरुको दुःख हेर्न नसक्नु उनको भनाई छ । संकटको समयमा पलले सामाजिक कार्यमा देखाएको सक्रियता साँच्चै प्रशंसनीय छ ।

