.jpg)
कोभिड १९ का कारण फिल्म क्षेत्रमा ५ महिनादेखि कुनै प्रकारका गतिविधि भएका छैनन् । फिल्म निर्माण/प्रदर्शन रोकिँदा कलाकारहरु फुर्सदिला भएका छन् । हजारौं प्राविधिकको रोजीरोटी गुमेको छ । यो अवस्था अझै कहिलेसम्म रहन्छ, अहिले नै भन्न सक्ने अवस्था छैन । दिन-प्रतिदिन बढिरहेको संक्रमितको संख्या हेर्दा दशैंअघि फिल्म क्षेत्र खुल्ने सम्भावना न्यून देखिन्छ ।
फिल्म निर्माण ठप्प हुँदा कलाकारहरुलाई अभिनयको तलतल लागिरहेको छ । लकडाउन खुकुलो भएपछि कतिले म्यूजिक भिडियोमार्फत् अभिनयको न्यास्रो मेटाए । कतिलाई भने टिकटक साथी बन्यो । लकडाउनपछि घरमै सीमित भएका कलाकार भोलाराज सापकोटाले भने तीजको दिन पर्दामा कहिल्यै निर्वाह गर्न नपाएको महिलाको चरित्रमा आफूलाई ढालेका छन् ।
तीजको दिन महिलाहरु रातो साडी, चुरा, गहना र श्रृंगारले चिटिक्ट परेर व्रत बस्ने गर्दछन् । कलाकार सापकोटाले भने रमाइलोका लागि रातो साडी र गलामा पोते लगाएर तस्बिर खिचेका छन्, जुन उनले शनिवार आफ्नो फेसबुकमा शेयर गरेका छन् । उनले साडी लगाएर महिलाको अपमान नगरेको भन्दै लकडाउनको समयमा आफूलाई आएको चकचक भनेर उल्लेख गरेका छन् ।
कलाकार सापकोटाले महिलाको पहिरन लगाएर तस्बिर खिचाउनुले पर्दामा पनि उनलाई महिला अवतारमा प्रस्तुत हुने इच्छा रहेको अनुमान लगाउन सकिन्छ । उनको यो पोस्टमा धेरैले सुहाएको भन्दै प्रतिक्रिया जनाएका छन् । थिएटर हुँदै फिल्ममा प्रवेश गरेका उनले बलिउड फिल्ममा समेत अभिनय गरिसकेका छन् । उनी पछिल्लो पटक फिल्म ‘चच हुईं’ मा देखिएका थिए ।

