
कोभिड १९ का कारण ठप्प रहेको फिल्म क्षेत्र कहिलेबाट सञ्चालनमा आउँछ, कुनै टुंगो छैन । दिनहुँ संक्रमितको संख्या बढिरहेका कारण दशैंअघि फिल्म निर्माण र प्रदर्शन हुने सम्भावना न्यून हुँदै गएको छ । तर, विभिन्न निर्माता/निर्देशकहरु लकडाउनकै समयमा नयाँ फिल्मको घोषणा गरिरहेका छन् । सबैको योजना स्थिति सामान्य भएपछि फिल्मको छायांकन सुरु गर्ने छ ।
यसबीच, ‘भैरे’ फेम्ड निर्देशक एभरेष्ट सूर्य बोहराले बाबुको मुख हेर्ने दिनको अवसर पारेर भदौ ३ गते चलचित्र विकास बोर्डमा ‘बा’ नामक फिल्म दर्ता गरेका छन् । कोरोनाको प्रभाव कम भएपछि आउँदो मंसिरमा छायांकन थालिने फिल्ममा बाबुको संघर्ष, त्याग र बलिदान प्रस्तुत गरिने बताइएको छ । लकडाउनको समयमा निर्देशक बोहराले फिल्मको कन्सेप्ट तयार पारेका हुन् ।
एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानरमा निर्माण हुने ‘बा’ को प्रदर्शन भने अर्काे वर्षको बाबुको मुख हेर्ने दिनमा गर्ने निर्माण टिमको लक्ष्य छ । पटकथा सह-लेखनमा निर्देशक बोहरालाई अभिमन्यु निरवीले सघाएका छन् । लम्जुङ र मनाङका विभिन्न स्थानमा खिचिने फिल्मका कलाकारको छनौट कार्य भइरहेको निर्देशक बोहराले बताए । फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।
फिल्मका गीतमा राजनराज शिवाकोटी, यम बराल र एलिस कार्कीको संगीत रहनेछ । ‘आमालाई धर्ती मान्नेले बाबुलाई कहिल्यै आकाश मानेनन्’, निर्देशक बोहरा भन्छन्, ‘वर्षाैदेखि मलाई यो कुराले झक्झक्याइ रहेको छ । त्यसैले बाबुको योगदान र महत्वलाई फिल्मबाट दर्शाउने छु ।’ बोहरा निर्देशित पछिल्लो फिल्म ‘हेलो जिन्दगी’ को हाल पोस्ट प्रोडक्सनको कार्य भइरहेको छ ।

