Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीजमा सधैं गुञ्जने ‘कन्यादान’ को ‘तीजको लहर आयो बरि लै’

फिल्मीखबर, काठमाडौं, 2020/08/21
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज आज हिन्दू धर्मावलम्बी नारीहरू महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा आजैको दिन निराहार व्रत बसेर पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गर्दछन् । तर, अघिल्ला वर्ष झैं यस वर्ष कोरोना भाइरसको त्रासका कारण तीजको खासै रौनक छैन ।
 
पछिल्लो समय गीतसंगीत विनाको तीज खल्लो बन्दै गएको छ । गाउँ-शहरमा तीज गीत घन्किन थालेपछि तीजको रौनक छाएको अभाष हुन्छ । तीजको दिन रातो साडी लर्काउँदै तीज गीतमा कम्मर नमर्काएसम्म महिलाहरुलाई धित मर्दैन । यसकारण पनि गीतसंगीतलाई तीजको अभिन्न अंग मानिन थालिएको छ । वर्षेनी तीजलाई लक्षित गरेर सयौं गीत रेकर्ड हुने गरेका छन् । 
 
 
कोरोनाका कारण यसपाली पहिलाको झैँ उतिधेरै गीत रेकर्ड भएनन् । तर, लकडाउनको बीच पनि सयभन्दा बढी तीज गीत रेकर्ड भएको बुझिएको छ । त्यसका भिडियो पनि निर्माण भएका छन् । तर, विडम्बना नै भन्नुपर्छ, पछिल्लो समय आएका तीज गीतले दर्शकको खासै मन जित्न सकेका छैनन् । न त कालजयी नै बन्न सकेका छन् । केही समय चर्चामा रहन्छन् अनि त्यसै हराउँछन् ।
 
नेपाली फिल्ममा पनि तीज गीतलाई कथावाचनको रुपमा प्रयोग गरिँदै आएको छ । वर्षौदेखि तीजमा सर्वाधिक घन्कने र सबैको राजाईमा परेको ‘तीजको लहर आयो बरि लै’ गीत नेपाली फिल्मकै हो । तीजमा नारीहरुको जमघट हुँदा यो गीतमा कम्मर मर्काएकै हुन्छन् । फिल्म ‘कन्यादान’ मा समावेश यो गीत बज्न थालेपछि मानिसहरुले तीजको रौनक छाएको महशुस गर्ने गर्दछन् ।
 
दिपा झा र पुर्णिमा श्रेष्ठको स्वर रहेको गीतमा मनोहरी सिंहले संगीत भरेका थिए । वर्षेनी दर्जनौं तीज गीत सार्वजनिक हुने गरेको भएता पनि यो गीत जति लोकप्रिय आजसम्म कुनै बन्न सकेका छैनन् । यो गीतको ओर्जिनल भिडियो यूट्युबमा समेत भेटिन्न । नायिका गौरी मल्लको अभिनय रहेको गीतमा वर्षौंपछि भेट भएका दिदी-बहिनीहरुलाई एकअर्कासँग खुलेर नाच्न भनिएको छ ।
 
‘रोमियो एण्ड मुनामा डानस’ (म एक नम्बर), ‘अन्जानमै माया बस्ला है’ (तीजको यो कस्तो रहर), ‘शकुन्तला’ (लपक्कै लाली) लगायतका फिल्ममा पनि तीज गीत समावेश गरिएको छ । तर, प्रकाश थापा निर्देशित ‘कन्यादान’ को ‘तीजको लहर ’ जति लोकप्रिय अरु फिल्मका तीज गीत बन्न सकेका छैनन् । के भोलीका दिनमा योभन्दा पनि सदावदार तीज गीत सुन्न पाइएला त ?
 
गीत सुन्नुहोस् :-
 

Most Visited News (monthly)