Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जन्मदिन विशेष : यस्ता छन् रेखाको जीवनका आरोह-अवरोह

फिल्मीखबर, काठमाण्डौ, 2020/08/21
२ दशकदेखि फिल्म अभिनयमा सक्रिय रहेकी अभिनेत्री रेखा थापाले आज आफ्नो जन्मदिन मनाउँदैछिन् । यसपटक हिन्दू नारीहरुले मनाउने महत्त्वपूर्ण चाड हरितालिका तीजको दिन उनको जन्मदिन परेको छ । पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट मोरङमा जन्मिएकी उनले आफ्नो उमेर गोप्य राख्दै आएकी छन् । विकिपिडिया भने उनको उमेर ३८ वर्ष उल्लेख छ ।
 
चर्चा र विवादमा आइरहने रेखा अभिनेत्रीसँगै निर्देशक, निर्माता, संगीतकार र गायिका पनि हुन् । पूर्व पति छविराज ओझाले निर्माण गरेको फिल्म ‘हिरो’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले २ दशक लामो अभिनय करिअरमा २ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । उनको पछिल्लो रिलिज फिल्म ‘मालिका’ हो, जसलाई उनी आफैंले निर्देशन गरेकी थिइन् ।
 
 
एक समय उनलाई नेपाली फिल्मकी निर्विकल्प अभिनेत्री भन्ने गरिन्थ्यो । निर्माताबीच उनलाई लिएर फिल्म बनाउन हानाथाप हुन्थ्यो । किनकि, उनको अनुहार पोस्टरमा राखेपछि फिल्म ‘स्योर सट’ हिट हुने विश्वास थियो । फिल्ममा आफूलाई सधैं हिरोको रुपमा प्रस्तुत गरेकी उनले नायिकाले पनि आफ्नो काँधमा बोकेर फिल्म सफल बनाउन सक्छन् भन्ने मानक स्थापित गरेकी थिइन् । 
 
केही वर्षयता भने उनको स्टारडममा कमी आएको छ । ‘पलाँस’, ‘डायरी’, ‘रुद्रप्रिया’, ‘मालिका’ जस्ता फिल्म असफल हुनुले ‘रेखा युग’ को अन्त्य भएको कतिपयको टिप्पणी छ । एकताका पर्दामा उनको प्रतिस्पर्धा हिरोसँग भयो । एक समयका स्टार कहलिएका निखिल उप्रेती र विराज भट्टसँग उनको राम्रै वाक युद्ध चलेको थियो । यो युद्धमा कसको जित भयो ? त्यो इतिहास बोल्नेछ ।
 
पर्दामा निकै सफल रहेकी रेखाको वैवाहिक जीवन भने सुखद रहन सकेन । फिल्म ‘हिरो’ खेले लगत्तै उनले निर्माता छविराज ओझासँग लगनगाँठो कसेकी थिइन् । तर, वैचारिक मतभेदका कारण करीब १२ वर्षपछि उनीहरुले छुटिने निर्णय लिए । छविसँग छुटिएपछि उनले आफ्नो नाममा दर्ता भएको कम्पनी ‘रेखा फिल्मस्’ बाट प्रत्येक वर्ष एउटा फिल्म निर्माण गर्दै आइरहेकी छन् । 
 
फिल्म करिअरको उत्कर्षमा रहँदा उनी तत्कालीन एमाओवादीमा प्रवेश गरेकी थिइन् । केही वर्षपछि उक्त पार्टी त्याग गर्दै राप्रपा नेपालमा प्रवेश गरिन् । तर, उनको राजनीतिक यात्रा सुखद देखिएको छैन । एक समय फिल्ममा छोटा पहिरन लगाएका कारण उनको निकै चर्चा हुने गरेको थियो । उनलाई नेपाली फिल्ममा पहिलो पटक छोटा कपडामा अभिनय गर्ने नायिका समेत भनिन्छ । 
Most Visited News (monthly)