Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीप र पलको सहकार्यले बढाएको अपेक्षा

फिल्मीखबर, काठमाडौं, 2020/08/19
नेपाली फिल्मले ६ दशक लामो यात्रा पूरा गरिसकेको छ । नेपालमा निर्मित पहिलो फिल्म ‘आमा’ देखि पछिल्लो रिलिज फिल्म ‘धुँलो’ सम्म आइपुग्दा नेपाली फिल्मले कयैन् अनुहार जन्मायो । पहिलो अभिनेता शिवशंकर मानन्धरदेखि राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, निखिल उप्रेतीलगायतले डोर्‍याएर ल्याएको फिल्म क्षेत्रलाई अहिले नयाँ पुस्ताका अभिनेताले काँध थापेका छन् ।
 
नेपाली फिल्मको इतिहास पल्टाउने हो भने विभिन्न कालखण्डमा एकअर्काका प्रतिस्पर्धी मानिने अभिनेताहरुले एउटै फिल्ममा सहकार्य गरेका छन् । तर, आर्यन सिग्देल र जीवन लुईंटेलको पुस्तापछि नयाँ छिमलका चल्तीका अभिनेताहरुले एकसाथ काम गरेका उदाहरण सम्भवतः छैन । केही वर्षयता नेपाली फिल्म क्षेत्रमा अनमोल केसी, प्रदीप खड्का र पल शाहको बोलवाला छ ।
 
तर, उनीहरुको अहिलेसम्म कुनै फिल्ममा सहकार्य भएको छैन । एकअर्काका प्रतिस्पर्धी मानिने उनीहरुलाई एउटै फिल्ममा लिने आँट पनि निर्माताले गर्न सकेका छैनन् । किनकि, यी तीन अभिनेतालाई लिएर फिल्म बनाउँदा पारिश्रमिकमा मात्र डेढ करोड खर्च हुन्छ, जुन बजेटमा एउटा स्तरिय फिल्म निर्माण हुन्छ । दर्शकहरुले भने उनीहरुलाई एउटै स्क्रिनमा हेर्न प्रतिक्षारत छन् ।
 
 
अनमोल, प्रदीप र पलले पनि एकसाथ काम गर्ने इच्छा व्यक्त नगरेका होइनन् । तर, त्यो कहिले पूरा हुन्छ, प्रतिक्षा गर्नुको अरु विकल्प छैन । यसबीच, प्रदीप र पलले भने पहिलो पटक एउटै फिल्ममा काम गर्दैछन् । ‘प्रेमगीत’ निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको कमेडी फिल्म ‘हुतुतु’ मा उनीहरुको सहकार्य भएको हो । फिल्मको अर्को वर्षबाट छायांकन सुरु हुने बताइएको छ । 
 
यी दुई अभिनेताले पहिलो पटक स्क्रिन साझेदारी गर्न लागेका कारण ‘हुतुतु’ प्रति दर्शकको आशा र अपेक्षा बढेको छ, जुन निर्माण टिमका लागि ठूलो चुनौती हो । फिल्ममा हरिवंश आचार्य, राजाराम पौडेल, माओत्से गुरुङ, नाजिर हुसेन, सलोन बस्नेत, गौरव पहारीलगायतको पनि अभिनय रहनेछ । यी सबै कलाकारलाई २ घण्टाको फिल्ममा मिलाउनु निर्माण टिमलाई सहज हुने देखिन्न ।
 
प्रदीप र पलका कारण फिल्मको इनिसियल बक्सअफिस सुखद हुने विश्वास निर्माण टिममा छ । उनीहरुको क्रेज हेर्दा प्रदर्शनको दुई दिन हलमा फिल्म हेर्ने दर्शक अभाव नहुन सक्छ । तर, आइतवारबाट कलाकारको अनुहारले फिल्म चल्दैन । कथावस्तु र प्रस्तुति बलियो छ भने दर्शक हलसम्म पुग्ने हुन् । यसकारण निर्माण टिमले अहिले फिल्मको स्क्रिप्टमा मिहेनत गर्न आवश्यक छ । 
 
एकअर्काका प्रतिस्पर्धी मानिने प्रदीप र पल एउटै फिल्ममा काम गर्न राजी हुनुले फिल्म क्षेत्र र दर्शकमा सकारात्मक सन्देश प्रवाह गरेको छ । तर, यी दुई अभिनेताबीचको सहकार्यले निर्माण नहुँदै ‘हुतुतु’ प्रति दर्शकमा जुन प्रकारको अपेक्षा बढेको छ, त्यसमा फिल्म खरो रुपमा उत्रन सक्नेमा धेरैको आशंका छ । आशा गरौं, फिल्म हेरेर दर्शकले नाक खुम्च्याउनु पर्ने अवस्था आउने छैन ।
Most Visited News (monthly)