
बलिउड निर्देशक निशिकान्त कामतको सोमवार हैदराबादको एक अस्पतालमा लिभर सिरोसिसका कारण निधन भएको छ । उनका नजिकका साथी अजय रायका अनुसार, कामतको अन्तिम दाह संस्कार हैदराबादमा नै गरिनेछ । उनको दाह संस्कारमा ४/५ जना साथीको मात्र उपस्थिति रहने बताइएको छ । कामतको परिवारमा विरामी पिता मात्र छन्, जो ९० वर्षका छन् ।
निर्देशक निशिकान्त हैदरावादस्थित एआइजी अस्पतालमा जुलाई ३१ देखि नै भर्ना भएका थिए । उनी लामो समयदेखि लिभर सिरोसिस नामक विरामीबाट पीडित थिए । महाराष्ट्रमा जन्मिएका उनले अजय देवगन र तब्बू स्टारर ‘दृश्यम’, इरफान खान स्टारर ‘मदारी’ जस्ता फिल्मको निर्देशन गरेका थिए भने जोन अब्राहमसँग ‘फोर्स’ र ‘रकी ह्यान्डसम’ जस्ता फिल्म पनि बनाएका थिए ।
उनले सन् २००५ मा मराठी फिल्म ‘डोम्बिभाली फास्ट’ बाट निर्देशनमा डेब्यू गरेका थिए । यो फिल्मलाई मराठी बेस्ट फिचर फिल्मका लागि राष्ट्रिय अवार्ड मिलेको थियो । बलिउडमा भने कामतलाई सन् २०१५ मा आएको फिल्म ‘दृश्यम’ बाट पहिचान मिलेको थियो । उनले ‘हवा आने दे’, ‘४०४ एरर नट फाउन्ड’, ‘रकी ह्यान्डसम’ जस्ता हिन्दी फिल्ममा अभिनय पनि गरेका छन् ।
सन् २०१६ मा आएको फिल्म ‘रकी ह्यान्डसम’ मा उनले भिलेनको भूमिका निभाएका थिए । यो फिल्मको निर्देशन उनी स्वयंले गरेका थिए । उनी ‘दर-ब-दर’ नामक एक हिन्दी फिल्मको निर्देशनको तयारीमा थिए । ‘दृश्यम’ फेम्ड अभिनेता अजय देवगनले निर्देशक निशिकान्तको निधनमा दुःख प्रकट गरेका छन् । केही कलाकारहरूले पनि उनलाई श्रद्धाञ्जली दिएका छन् ।

