
काठमाडौं । बिहीबारबाट प्रदर्शनमा आएको भारतीय फिल्म ‘रामायण : राइज अफ अ लेजेन्ड’ले दुई दिनमै विश्वभरबाट २ सय करोडको आँकडा पार गरेको छ । फिल्मले दुई दिनमा विश्वव्यापी रूपमा २२१ करोड ५ लाख भारुको ग्रस व्यापार गरेको ट्रेड पोर्टल स्याक्निल्कले जनाएको छ । भारतमा भने फिल्मको नेट कमाइ एक सय करोड पार भएको छ ।
फिल्मले पहिलो दिन भारतमा पाँच भाषामा गरी ६४ करोड ८५ लाख भारु नेट कमाइ गरेको थियो । दोस्रो दिन शुक्रबार भने फिल्मको कमाइमा ठूलो गिरावट आएको छ । फिल्मले शुक्रबार ४८ करोड ५ लाख भारु नेट कमाएको छ, जुन पहिलो दिनको तुलनामा २५.९ प्रतिशत कम हो । यद्यपि, भारतमा दुई दिनको नेट कमाइ ११२ करोड ९० लाख भारु पुगेको छ ।
घरेलु बजारमा फिल्मको कमाइमा हिन्दी संस्करणको सबैभन्दा ठूलो योगदान छ । बिहीबार ४७ करोड ५० लाख र शुक्रबार ३५ करोड ५० लाख गरी हिन्दी संस्करणले दुई दिनमा मात्रै ८३ करोड रुपैयाँ नेट कमाएको छ । यो कुल घरेलु नेट कमाइको ७३.५ प्रतिशत हो । हिन्दीपछि फिल्मको कन्नड संस्करणले सबैभन्दा बढी कमाइ गरेको छ ।
नितेश तिवारीको निर्देशन तथा नमित मल्होत्राको निर्माणमा बनेको फिल्ममा रणबीर कपूर (राम), साई पल्लवी (माता सीता), यश (रावण), रवि दुबे (लक्ष्मण), अरुण गोविल (राजा दशरथ), लारा दत्ता (कैकेयी), रकुल प्रीत सिंह (शूर्पणखा), काजल अग्रवाल (मन्दोदरी) र आदिनाथ कोठारे (भरत)को भूमिकामा छन् । फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

