.jpg)
अभिनेता राजेश हमालले यसपटकको चुनाव आफ्नो लागि एकदमै संवेदनशील र चुनौतीपूर्ण रहने बताएका छन् । प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले भदौ २३ र २४ गतेको घटनापछि देश संवेदनशील अवस्थामा रहेकाले सुझबुझ पुर्याएर कसैको दबाबमा नपरी मतदान गर्न पनि आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘यो चुनाव मेरो लागि संवेदनशील र चुनौतीपूर्ण रहनेछ । भोलि भोट हाल्दै गर्दा मेरो सामुन्ने एक हिसाबले चुनौती नै रहनेछ । किनकि, हाम्रोसामु राजनीतिक हिसाबले परिपक्व भनिएका राजनीतिक दलहरूको धमलिएको छवि र नयाँ राजनीतिक शक्ति भनाउँदाहरूको राजनीतिक दूरदर्शिता खासै छर्लङ्गसँग आइसकेको छैन । यो हिसाबले हाम्रो अगाडि ठूलै चुनौती रहनेछ ।’
हमालले भदौ २३ र २४ गतेका घटनाबीच सम्बन्ध थियो वा थिएन भन्ने विषय अझै स्पष्ट नभएको पनि उल्लेख गरेका छन् । भदौ २३ मा भएको कहालीलाग्दो घटना र भदौ २४ मा भएको राष्ट्रिय सम्पदाको विध्वंसको जवाफदेहिता स्पष्ट रूपमा सुनिश्चित नभइसकेको अवस्थामा देश चुनावमा होमिएकाले मतदाताका लागि छनोट त्यति सजिलो नभएको उनको तर्क छ ।
उनले भिडियोमा भनेका छन्, ‘भोलिका दिनमा यदि नेपालमा राजनीतिक स्थिरता र ऐक्यबद्धता आएन भने नेपालको स्वतन्त्रता र सार्वभौमतामाथि नै आँच आउन सक्छ । त्यसैले भोलि हामी मतदाताहरूले अत्यन्त संवेदनशील भएर मतदान गर्नुपर्छ । हाम्रो अगाडि छनोट त्यति सजिलो छैन । चुनौतीपूर्ण छ । हामीले सचेत भएर आफ्नो मतदानको अधिकारलाई प्रयोग गर्नुपर्छ ।’

