
सन् २०१८ को कल्ट क्लासिक फिल्म ‘तुम्बाड’को यस वर्ष सिक्वेल निर्माण हुँदैछ । बलियो दृश्यभाषामार्फत पहिलो भागले गहिरो प्रभाव छाडेकाले ‘तुम्बाड २’प्रति दर्शकमा ठूलो अपेक्षा देखिएको छ । अब यो फिल्मको प्रतीक्षामा बसेका दर्शकका लागि एउटा खुसीको खबर आएको छ । यसमा बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीको प्रवेश भएको छ ।
फिल्ममा नवाजुद्दीन अनुबन्धित भएको जानकारी स्वयं निर्माताले सामाजिक सञ्जालमार्फत दिएका छन् । नवाजुद्दीनलाई ‘तुम्बाड’ युनिभर्समा जोड्नु निर्माताको ठूलो सृजनात्मक निर्णय मानिएको छ । तर, उनको भूमिकाबारे कुनै जानकारी दिइएको छैन । फिल्म निकट स्रोतका अनुसार उनको भूमिकाले कथाको मनोवैज्ञानिक र भावनात्मक टोनलाई अझ गहिरो बनाउनेछ ।
‘तुम्बाड २’मा अभिनय गर्ने पक्का भएसँगै नवाजुद्दीनले यसको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘म ‘तुम्बाड’को मौलिकता र यसको डार्क माहोलको सधैं प्रशंसक हुँ । जब सोहम शाह (निर्माता)ले मलाई सिक्वेलको भिजन सुनाउनुभयो, कथा तुरुन्तै मन पर्यो । यो अत्यन्तै इमर्सिभ र लगनशील परियोजना हो, जसको हिस्सा बन्न पाएकोमा खुसी छु ।’
करिब १५ करोड भारुमा बनेको ‘तुम्बाड’ले आफ्नो पहिलो प्रदर्शन र सन् २०२४ को पुनः प्रदर्शनसहित भारतमा मात्र कुल ५३ करोड ४६ लाख भारु ग्रस कमाइ गरेको थियो । यो पुनः प्रदर्शनमा सर्वाधिक कमाइ गर्ने पहिलो भारतीय फिल्म समेत हो । यसले रि-रिलिजमा ३० करोड ५० लाख भारु कमाएको थियो । यो फिल्मको भेनिस फेस्टिभलमा प्रिमियर समेत भएको थियो ।

