.jpg)
अभिनेत्री केकी अधिकारीले यसपटकको होली नेपालीहरूका लागि खास रहेको बताएकी छन् । सोमबार परिवारसँग होली मनाएको एक तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले असत्यमाथि सत्यको जित भन्ने कुरालाई कुनै दन्त्य कथा र मिथकमा मात्र सीमित हुन नदिन यसपटक तमाम सहिदहरू र नेपाल आमालाई सम्झिएर मतदान गर्न आग्रह गरेकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘यसपटक आफ्नो अमूल्य मत दिँदै गर्दा तमाम सहिदहरूलाई एकपटक फेरि सम्झियौँ, घरमा भएका हाम्रा हजुरबुबा-हजुरआमा र आमा-बाबाको निराशालाई सम्झियौँ, हामीले देखेका सपानाहरूलाई सम्झियौँ, विदेशिनुपरेको बाध्यतालाई सम्झियौँ, स-साना बालबालिकाका भविष्यलाई सम्झियौँ, नेपाल आमालाई सम्झियौँ ।
काठमाडौं क्षेत्र नम्बर ३ की मतदाता रहेकी उनले यो निर्वाचनबाट असत्य र अन्यायमाथि सत्य र न्यायको जित हुने विश्वास व्यक्त गरेकी छन् । उनी अगाडि लेख्छिन्, ‘सुशासन र स्थिरता कायम हुन सकोस् । यो होली अनि यसपछिका आउने दिनहरू हामी सम्पूर्ण नेपालीहरूका लागि सोचेजस्तै बन्न सकोस् । होलीको सम्पूर्ण नेपालीहरूमा रंगीन विवेकको कामना ।’
सामाजिक र राजनीतिक विषयमा आफ्नो स्पष्ट धारणा राख्ने अभिनेत्रीको रूपमा चिनिएकी केकीले केही समयअघि ‘प्रश्नबाट कोही पनि नभागौँ’ भन्दै भावी प्रधानमन्त्रीका आकांक्षीहरू एमालेका केपी शर्मा ओली, कांग्रेसका गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाहलाई ठोस नीति, योजना र कार्यक्रमसहित साझा बहसका लागि आह्वान समेत गरेकी थिइन् ।

