मिति : २०८२ फाल्गुन २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चुनावको दिन देशभरका हल बन्द हुने

फिल्मीखबर, काठमाडौं, 2026/03/02

 

प्रतिनिधि सभा निर्वाचनको दिन देशभरका फिल्म हलहरू बन्द हुने भएका छन् । निर्वाचनलाई सहयोग गर्न र कर्मचारीहरूलाई मतदानको अवसर प्रदान गर्न फागुन २१ गते हलहरू बन्द रहने प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थले जानकारी दिए । उनका अनुसार बुधबार बस्ने संघको बैठकले यसबारे आधिकारिक निर्णय गर्नेछ ।

संघले निर्णय गर्नुभन्दा अघि नै केही हलहरूले सामाजिक सञ्जालमार्फत चुनावको दिन हल बन्द रहने जानकारी गराइसकेका छन् । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले पनि एक सूचना जारी गर्दै कर्मचारीहरूलाई मतदानका लागि प्रोत्साहन गरिएकाले निर्वाचनको दिनसँगै २० र २२ गते पनि केही स्थानका हलहरूको सेवा प्रभावित हुने जनाएको छ । 

चुनावी माहोलका कारण केही दिनयता हलहरूमा दर्शकको उपस्थिति निकै न्यून देखिएको छ । ‘आ बाट आमा’बाहेक कुनै फिल्ममा अपेक्षित दर्शक छैनन् । यद्यपि, हलहरूमा फिल्म भने प्रशस्त छन् । अहिले नेपालीतर्फ ‘आ बाट आमा’सहित कुमारी’, ‘प्रवासी जीवन’ र ‘रमिताको पिरती’ प्रदर्शनरत छन् भने विदेशीतर्फ ‘ओ रोमियो’, ‘स्क्रिम ७’, ‘क्राइम १०१’ जस्ता फिल्महरू छन् ।

चुनावपछि फागुन महिनाको अन्तिम फिल्मको रूपमा ‘लालिमा’ प्रदर्शन हुँदैछ, जसको प्रदर्शन मिति फागुन २९ गतेलाई तोकिएको छ । चैतमा भने ‘हामी तीन भाइ’, ‘राम नाम सत्य’ र ‘३६ को आँकडा’ जस्ता फिल्म प्रदर्शन हुँदैछन् । चैत पहिलो साता अर्थात् मार्च १९ मा दक्षिण भारतीय फिल्म ‘टक्सिक’ र बलिउडको ‘धुरन्धर २’ पनि प्रदर्शन हुने तयारीमा छन् ।