मिति : २०८२ फाल्गुन २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संकटमा राजेश हमाल : ‘नरसिंहा अवतार’ न ‘प्रवासी जीवन’ चल्यो

फिल्मीखबर, काठमाडौं, 2026/03/01

rajesh hamal

 

कुनै समय अभिनेता राजेश हमालको टाउको पोस्टरमा राखेको भरमा मात्रै पनि फिल्म सुपरहिट हुन्छ भन्ने गरिन्थ्यो । यसरी केही फिल्म चलेका पनि थिए । तर, समय सधैँ एकैनास कहाँ हुन्छ र ? करिअरको उत्कर्षमा रहँदा सफलताको चरम सुखभोग गरेका उनका लागि पछिल्लो समय फिल्मको सफलता एकादेशको कथा जस्तै बनेको छ । 

विगत एक दशकयता उनका कुनै फिल्म सफल हुन सकेका छैनन् । सन् २०१६ मा प्रदर्शन भएको फिल्म ‘सकुन्तला’को असफतापछि उनले ८ वर्ष अभिनयबाट विश्राम नै लिएका थिए । तर, लामो विश्रामपछि उनले अभिनय गरेको फिल्म ‘नरसिंहा अवतार’ र हाल प्रदर्शनरत फिल्म ‘प्रवासी जीवन’ पनि असफल भएपछि अब उनको युग सकिएको टिप्पणी हुन थालेको छ । 

‘नरसिंहा अवतार’ले बक्स अफिसमा २ करोड हाराहारीको व्यापार गरेको थियो । ‘प्रवासी जीवन’को व्यापार भने २ लाख पनि नपुग्ने देखिन्छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले आइतबारसम्म देशव्यापी ५ प्रतिशत अकुपेन्सी पनि हासिल गर्न सकेको छैन । फिल्मका धेरैजसो शो दर्शक अभावले रद्द भएपछि आइतबारबाट प्रायः हलले फिल्मलाई उतारिसकेका छन् । 

यो फिल्ममा हमालले मनोचिकित्सकको भूमिका निभाएका छन् । यसमा उनको मुख्य भूमिका भने छैन । तर, फिल्मका निर्माता-निर्देशकले उनलाई मुख्य कलाकारभन्दा बढी महत्त्व दिएर हरेक प्रचार सामग्रीमा अटाएका थिए । हमाल आफैं पनि फिल्मको प्रचारमा सक्रिय भएर लागेका थिए । तर, दर्शकले उनको फिल्मप्रति रुचि नै देखाएनन् । जसले गर्दा फिल्म ‘डिजास्टर’ बनेको छ ।

एकै वर्षमा दुई फिल्म फ्लप भएपछि हमालको आगामी करिअरबारे धेरैमा चासो बढेको छ । कतै उनले फेरि अभिनयबाट लामो समय विश्राम लिने त होइनन् भन्ने प्रश्न उठिरहेको छ । कतिपयले भने उनी अब राजनीतिमा आउन सक्ने अड्कल काटिरहेका छन् । यद्यपि, उनका प्रशंसकहरू आगामी दिनमा उनको बलियो कमब्याक हुनेमा आशावादी छन् ।