
आगामी बैशाख ११ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘परालको आगो’को बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । सौगात मल्ल, प्रकाश सपूत र सुहाना थापालाई पात्र लुक्समा प्रस्तुत गरिएको पोस्टरले दर्शकमा उत्सुकता बढाएसँगै विदेशमा फिल्मको माग ह्वात्तै बढेको छ । शुक्रबार मात्र दुई देशमा फिल्म बिक्री भएको छ ।
नेपालीहरूको उल्लेख्य बसोबास रहेको क्यानडा र अमेरिकामा फिल्म बिक्री भएको निर्माता सुशील पोखरेलले जानकारी दिए । उनका अनुसार ‘इएनटी’ कम्पनीले दुई देशका लागि फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो । तर, वितरण अधिकारको मूल्य भने उनले खुलाएका छैनन् । फिल्मलाई नेपालकै मितिमा अमेरिका र क्यानडामा प्रदर्शन गरिने जनाइएको छ ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा सौगात, प्रकाश र सुहानासहित सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, मन्जिला बाँनिया लगायतका कलाकारहरूले अभिनय गरेका छन् । हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा सुशील देवकोटाको लेखन रहेको छ ।
कथाकार गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित ‘परालको आगो’बाट प्रेरित भनिएको यस फिल्ममा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, कनाल कँवरको रंग संयोजन तथा शान्ती ठटाल, सत्य-स्वरुप र प्रकाश सपूतको संगीत रहेको छ । श्रीमान्-श्रीमती चामे र गौँथलीको झैँझगडालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

