टिकटकबाट उदाएर म्यूजिक भिडियोमा राम्रो सफलता पाएकी मोडल प्रिन्सी खतिवडालाई अब फिल्ममा देख्न पाइने भएको छ । त्यो पनि अनमोल केसीको जोडी बनेर । अभिनेता भुवन केसीको निर्देशनमा बन्न लागेको फिल्म ‘बाटुलो जून’बाट उनले डेब्यु गर्न लागेकी हुन् । उनलाई निर्माण टिमले अडिसनबाट छानेको हो । एक साताअघि प्रिन्सीसहित १५ जनाको अडिसन लिइएको थियो ।
प्रिन्सीले एक सय बढी म्यूजिक भिडियोमा काम गरिसकेकी छन् भने केही हिन्दी गीतमा समेत अभिनय गरेकी छन् । टिकटकमा बनाएको भिडियोबाट दर्शकमाझ चिनिएकी उनलाई सामाजिक सञ्जालमा पछ्याउनेको संख्या ठूलो छ । टिकटकमा मात्र उनको फलोअर्स करिब ५ लाख छ । केही दिनयता अनमोलसँग वर्कसपमा बसेर उनले स्क्रिप्ट अध्ययन गर्दै चरित्र निर्माण गरिरहेकी छन् ।
अभिनेत्री जीया केसीले निर्माण गर्न लागेको फिल्मको छायांकन आगामी साताबाट सुरु हुँदैछ । अंगुर खेती र पानी परेको दृश्य खिच्नुपर्ने भएकाले करिब एक साता धादिङ जिल्लामा अवस्थित नौबिसेमा फिल्मको छायांकन गरिने जनाइएको छ । दोस्रो चरणको छायांकन भने मनसुन सकिएपछि हुनेछ । यो बीचमा अनमोलले आफ्नो अर्को फिल्म ‘जेरी अन टप’को गीतको छायांकन गर्नेछन् ।
चलचित्र विकास बोर्डबाट ‘बाटुलो जून’ शीर्षकमा फिल्म निर्माणका लागि इजाजत लिँदा लागत २५ लाख मात्र उल्लेख गरिएको छ । यसअर्थ यो अनमोलको करिअरकै सस्तो बजेटको फिल्म हुनेछ । यसमा उनी र उनका पिता भुवन केसीले पारिश्रमिक लिएका छैनन् । यसैले पनि फिल्मको लागत कम हुन गएको हो । ‘बाटुलो जून’मा भुवनको निर्देशनसँगै अभिनय पनि रहने जनाइएको छ ।