बैशाख महिना सुरु भएयता नेपाली फिल्मको व्यापार दयनीय देखिएको छ । अघिल्लो साता प्रदर्शन भएका दुई फिल्म ‘भूठान’ र ‘खेल’ले पोस्टर छपाईको पैसा समेत उठाउन सकेनन् । यो निराशाका बीच शुक्रबारबाट नयाँ फिल्म ‘झिल्को’ प्रदर्शनमा आएको छ । तर, यसले पनि बक्सअफिसमा झिल्को बाल्ने संकेत देखाएको छैन । प्रि-बुकिङमा फिल्मको ५० वटा टिकट समेत बिक्री भएन ।
शुक्रबार बिहान ११ बजेसम्म फिल्मको देशव्यापी अकुपेन्सी २ प्रतिशतभन्दा तल देखिएको छ । साँझसम्मका धेरैजसो शोमा एउटा टिकट समेत बिक्री भएको छैन । यही अवस्था रहेमा फिल्मलाई आइतबारसम्म हलमा टिक्नै मुस्किल पर्नेछ । अब ‘वर्ड अफ माउथ’ कस्तो प्राप्त हुन्छ, त्यसले फिल्मको व्यावसायिक भविष्य निर्धारण गर्नेछ । फिल्मलाई देशव्यापी ४५ हाराहारी शो प्राप्त छ ।
प्रदर्शनको पूर्वसन्ध्यामा बिहीबार साँझ काठमाडौंमा फिल्मको प्रिमियर गरिएको थियो । तर, त्यो प्रिमियर कम ‘फेमिली शो’ ज्यादा देखिन्थ्यो । फिल्मको टिमका परिवारिक सदस्यले दुईवटा हल पूरै भरिएको थियो । फिल्मकर्मी र पत्रकारहरु भने हलको सिँढीमा बसेर फिल्म हेर्न बाध्य भएका थिए । प्रिमियरमा फिल्म हाउसफुल भए पनि शुक्रबार हलहरूमा दर्शक सिला खोज्नुपर्ने अवस्था छ ।
बालबालिकामा मोबाइलको कुलत, अभिभावकीय बेवास्ता, र डिजिटल कुलतले पारेको पारिवारिक विखण्डनजस्ता विषयवस्तुलाई प्रस्तुत गरिएको फिल्मलाई यादवकुमार भट्टराईले निर्देशन गरेका हुन् । यसमा सुनील पोखरेल, वर्षा सिवाकोटी, आयुषी ढकाल, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेतलगायतको अभिनय छ । ‘झिल्को’लाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् ।