मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मैले पाएको उपहार हो ‘खजुरे ब्रो’ : रेअर राई

फिल्मीखबर, काठमाडौं, 2024/05/02

रंगमञ्चबाट उदाएका कलाकार हुन्, रेअर राई । दर्जनौं नाटकमा अभिनय गरिसकेका उनले ‘ए मेरो हजुर ३’, ‘यात्रा’, ‘चपली हाइट २’, ‘गोर्खा वारियर’ जस्ता फिल्ममा सहायक चरित्रमा काम गरेका छन् । तर, अक्सर मुख्य कलाकारभन्दा उनकै अभिनयको बढी वाहवाही हुन्छ । उनको ‘कमिक टाइमिङ’ बुलन्द मानिन्छ । अब पहिलोपटक उनी मुख्य अभिनेता भएर फिल्ममा देखिएका छन् ।

रेअरमाथि केन्द्रित भएर बनेको फिल्म ‘खजुरे ब्रो’ यही बैशाख २८ गतेबाट प्रदर्शन हुँदैछ । टिजर र ट्रेलर हेर्दा उनले निभाएको पात्र रोचक देखिन्छ । त्यो पात्र पैसाका लागि कहिले साबुन त कहिले १७ प्लेट मःम खान्छ । ‘तेरे नाम’मा सलमान खानको जस्तो ‘हेयर स्टाइल’ छ । उसको बोलाई र हिडाई पनि अलग छ । यो चरित्र धरानमा कुनै समय चर्चित मानिएका ‘खजुरे’ पात्रबाट प्रभावित छ ।

 

rear rai


रेअर ‘खजुरे ब्रो’लाई आफूले पाएको अमूल्य उपहार मान्छन् । यतिबेला फिल्मको प्रचारका लागि मोफसल दौडाहामा रहेका उनले बुधबार चितवनमा पत्रकारसँग भने- ‘मैले काम गर्दागर्दै पाएको उपहार हो यो फिल्म । भोलिका दिनमा साइड रोल र मुख्य भूमिका दुवैमा काम गरौला । त्यो भनेको भाग्यको कुरा पनि हो । यद्यपि, सबैभन्दा पहिला म कलाकार हुँ, २ मिनेटको रोल भए पनि गर्छु ।’

उनी ‘खजुरे ब्रो’मा आफूले ‘चीट’ नगरेको दाबी गर्छन् । ‘यो फिल्ममा मैले कुनै ‘चीट’ गरेको छैन । मैले राम्रो काम गरेकाले त्यसको प्रतिफल पनि राम्रै आउँछ भन्ने विश्वास छ,’ उनले अगाडि भने, ‘फिल्ममा नयाँ प्रयास गरिएको छ । इन्डस्ट्रीका लागि पनि केही होस् भन्ने सोचले जोखिम मोलर बनाएको फिल्म हो ।’ यो फिल्मले आफ्नो करिअरमा एउटा दरिलो इट्टा थप्नेछ भन्ने उनलाई विश्वास छ ।

त्यस्तै, अर्का अभिनेता महेश त्रिपाठी चुनौतीपूर्ण चरित्र भएकाले आफू काम गर्न आकर्षित भएको बताउँछन् । उनी भन्छन्, ‘मलाई सधैं फिल्मको चरित्रले चुनौती दिओस् र त्यसमा काम गरुँ भन्ने लाग्छ । यसमा पनि चुनौती दिने चरित्र भएकाले नै मलाई आकर्षित गरेको थियो । मेरो छवि ‘इन्टेन्स एक्टर’को रुपमा बनिरहेको छ । यसमा फरकखालको आयाम देखिन्छ भन्ने विश्वास लिएको छु ।’

फिल्मको मोफसल यात्रामा रेअर र महेशका साथै अभिनेता तथा निर्माता नवीन मानन्धर, अर्का अभिनेता पुष्कर कार्की र अभिनेत्री विनिता थापा पनि सहभागी छन् । तीन दिनको मोफसल टूर सकिएपछि काठमाडौंमा फिल्मको प्रिमियर गर्ने योजनामा निर्माण टिम रहेको छ । सुरज सुनुवारको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मबाट नीति शाहले अभिनेत्रीको रुपमा डेब्यु गरेकी छन् ।