मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

प्रिमियरमा ‘मनसरा’को प्रशंसा (तस्वीरसहित)

फिल्मीखबर, काठमाडौं, 2024/05/02

‘जारी’ समूहको फिल्म ‘मनसरा’ यही शुक्रबार अर्थात् बैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । बक्स अफिसमा सुखद व्यापारको प्रक्षेपण गरिएको फिल्मले प्रिमियरमा लोभलाग्दो प्रतिक्रिया पाएको छ । बुधबार साँझ ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा आयोजना गरिएको प्रिमियरमा फिल्म हेर्ने अधिकांशले प्रशंसामा शब्द खर्चिए । विशेषगरी उपेन्द्र सुब्बाको लेखन र निर्देशनको वाहवाही भएको थियो ।

 

Mansara-1


निर्देशक तथा अभिनेता निश्चल बस्नेतले ‘मनसरा’बाट निर्देशक सुब्बाले एकपटक फेरि फिल्ममा साहित्य जरुरी छ भन्ने प्रमाणित गरेको बताए । ‘जारी’कै स्तरमा फिल्म बनेको उनको दाबी थियो । ‘उपेन्द्र दाईको ‘जारी’ हेर्दा नै उहाँको पहिलो फिल्म हो जस्तो लागेको थिएन । यो पनि त्यही लेभलमा छ,’ उनले भने- ‘आम जीवनभित्र घट्ने स-सानो कुरालाई कसरी एकठाउँमा ल्याएर कथा भन्नुपर्छ भन्ने राम्रो ज्ञान उपेन्द्र दाईलाई छ । ‘मनसरा’ हेर्दा पनि मलाई त्यो लाग्यो । फिल्म हेर्दा मज्जा आयो ।’  

यस्तै, अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । भूइँमान्छेहरु कस्तो परिस्थितिहरुसँग जुधेका हुन्छन् र कसरी उम्किन्छन् भन्ने कुरालाई फिल्मले सुन्दर ढंगले पस्किएको उनको भनाई थियो । निर्देशक तथा निर्माता अशोक शर्माले फिल्म अर्गानिक रहेको दाबी गरे ।

 

Mansara-1


अर्का निर्देशक प्रदीप भट्टराईले नेपालमा फरक-फरक खालका फिल्म बन्नुपर्ने धारणा व्यक्त गर्दै ‘मनसरा’लाई एउटा बगैँचामा फूलेको धेरैथरी फूलको संज्ञा दिए । ‘फिल्म इन्डस्ट्री भनेको बगैँचा जस्तो हो । त्यहाँ एकथरी मात्र फूल फुल्यो भने त कामै भएन । थरीथरीका फूल फुल्नुपर्छ । हामी त एउटा-एउटा खालको फूल फुलाउँछौं, उपेन्द्र दाईले त एउटै बगैँचामा धेरैथरी फूल लिएर आउनुहुन्छ । ‘जारी’मा एक-दुईथरी फूल फुलाउनुभएको थियो, यसपालि सिंगो बगैँचा लिएर आउनुभएको छ,’ प्रदीपले भने ।

अभिनेत्री सुरक्षा पन्त त निर्देशक सुब्बालाई नेपाली फिल्म क्षेत्रले पाएको आशीर्वाद मानिन्छन् । अक्सर आम मानिसले प्रश्न गरिरहने प्रेम सम्बन्धलाई ‘मनसरा’मा सरल र काव्यिक शैलीमा प्रस्तुत गरिएको उनको तर्क थियो । फिल्ममा विशेष भूमिकामा अभिनय गरेका गायक सत्यराज आचार्यले धेरैपछि उत्कृष्ट फिल्म बनेको दाबी गरे । फिल्मले अब्बल किसिमको कथा भनेको उनको भनाई थियो ।

 

Mansara-Pradip-Surakshya


प्रिमियरमा राम्रो प्रतिक्रिया प्राप्त हुँदा निर्देशक, निर्माता र कलाकारको अनुहारमा खुसीको भाव देखिएको थियो । फिल्मका मुख्य अभिनेता प्रवीण खतिवडाले प्रिमियरको प्रतिक्रियाले उत्साहित बनाएको भए पनि अब दर्शकको प्रतिक्रियाको पखाई रहेको बताए । अभिनेत्री मिरुना मगरले भने ‘मनसरा’बाट आफूले धेरै कुरा सिक्न र बुझ्न पाएको अनुभव सुनाएकी थिइन् । अर्की अभिनेत्री मेनुका प्रधानले फिल्मको कथा अगाडि बढ्दै जाँदा आफू भावुक भएको प्रतिक्रिया दिइन् । फिल्मको बिहीबार विराटनगरमा पनि प्रिमियर राखिएको छ ।

फिल्ममा दयाहाङ राईको पनि अभिनय छ । उनी फिल्म ‘डिग्री माइला’को प्रदर्शनका लागि हङकङमा भएकाले प्रिमियरमा उपस्थित हुन सकेका थिएनन् । फिल्ममा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राई लगायतको पनि अभिनय छ । फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् भने छायाँकार पनि उनी स्वयं हुन् । फिल्मले अन्तरजातीय सम्बन्धको आयामलाई पस्किएको छ ।