
फिल्म ‘सम्झना बिर्सना’ आउँदो जेठ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकेको हो । पोस्टरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा रोमान्टिक मुद्रामा देखिएका छन् । यसअघि २०७७ सालको जेठ २ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, कोरोना महामारी कारण फिल्म प्रदर्शन हुन सकेन ।
दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्मलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । निमेष प्रधान निर्देशित फिल्मको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंले लेखेका हुन् । सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतको पनि अभिनय रहेको यो फिल्म आदित्य फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।
कोरोना महामारीअघि भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन भएको फिल्ममा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ । शिशिर राणा र निमेष प्रधानले मिलेर फिल्मको संवाद लेखेका हुन् । निर्देशक प्रधानले आफूले युवा पुस्तालाई लक्षित गरेर फिल्म बनाएको जानकारी दिए । यो उनको डेब्यू निर्देशित फिल्म हो ।

