
काठमाडौंको न्यूरोडमा रहेको कुनै बेलाको चर्चित रञ्जना सिनेमा हल १३ वर्षपछि अत्याधुनिक सेवा सुविधाका साथ शुक्रवारबाट पुनः सञ्चालनमा आएको छ । मल निर्माण गर्न भन्दै २०६५ सालमा रञ्जना हल बन्द गरिएको थियो । रञ्जना सिनेप्लेक्सको नाममा दिएर साउथ फिल्म ‘आरआरआर’ रिलिज गर्दै हल सञ्चालनमा आएको हो । तीन अडिटोरियम रहेको हलमा ५३१ सिट क्षमता छ ।
कालु गुरुङ, वीरेन्द्रनारायण महर्जन र नरेन्द्र महर्जनले मिलेर सञ्चालनमा ल्याएको हलमा फोरके प्रोजेक्टर समेत जडान गरिएको छ । नेपालमै पहिलो पटक एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको हलमा थ्रिडि फिल्मका पारखीहरुलाई लक्षित गरि थ्रिडि सिस्टम पनि जडान गरिएको सञ्चालक महर्जनले बताए । २०७१ साल साउनबाट रञ्जना ट्रेण्ड सेन्टर सञ्चालनमा आएको थियो ।
काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड मानिसहरुको अत्याधिक चाप हुने स्थान हो । सो स्थानमा अरु सिनेमा हल नभएकाले रञ्जना हलले पुरानो क्रेज फर्काउन सक्ने विश्वास सञ्चालकहरुले लिएका छन् । २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो सिनेमा हल मध्येको एक हो । अहिले देशभर अत्याधुनिक सेवा सुविधासहित मल्टीप्लेक्स हलहरु खुल्ने क्रम बढेका छन् ।

