
‘सरी मम’ नाममा फिल्म निर्माण हुने भएको छ । बिहीवार काठमाडौँको भद्रकाली मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन पनि सुरु गरिएको छ । क्यामेरा र स्क्रिप्ट पूजा गर्दै छायांकन थालिएको फिल्मका लागि सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए । मुहूर्त समारोहमा वितरक गोपालकाजी कायस्थले क्ल्याप ठोकेका थिए भने रञ्जीत रानाले निर्देशन गरेका थिए ।
नविन बोगटीले निर्देशनमा बन्न लागेको फिल्ममा सरिता र प्रभातका अलावा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवालको अभिनय रहनेछ । बागमती र गण्डकी प्रदेशमा सम्पूर्ण छायांकन हुने फिल्मको प्रस्तुतकर्तामा विनोद लामा छन् । फिल्मले आमा र सन्तानबीचको भावनात्मक सम्बन्धको कथालाई प्रस्तुत गर्ने बताइएको छ ।
एनएफआई क्रियसनको व्यानरमा निर्माण हुने फिल्मको ३० दिन छायांकन सेड्युल राखिएको छ । ‘सरी मम’लाई दीर्घ गुरुङले छायांकन गर्ने जिम्मेवारी पाएका छन् । सामाजिक कथावस्तुमा निर्माण गरिने फिल्मलाई आगामी वर्ष (२०७९) को दशैं र तिहारको बीचमा प्रदर्शन गरिने निर्माता विनोद लामाले जानकारी दिए । नविन बोगटीले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।

