Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ४’ ट्रेलर : अनमोल र सुहानाको प्रेममा परिवार तगारो

फिल्मीखबर, काठमाडौं, 2022/03/25
अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा बिग मुभिजमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स, विछोड, कमेडी मिश्रित छ । अनमोल र सुहानाको प्रेममा परिवार तगारो बनेपछि उत्पन्न हुने परिस्थितिलाई ट्रेलरमा देखाउन खोजिएको छ । ट्रेलर कलरफूल बनेको छ ।
 
चार मिनेटको ट्रेलरमा गीतलाई प्राथमिकता दिइएको छैन । ट्रेलरमा सुहानाको एक्सप्रेसन र अभिनय जबर्जस्त छ । अनमोलको अभिनयमा पनि केही सुधार भएको देखिन्छ । तर, केही सिनमा उनको उपस्थिति फितलो लाग्छ । ट्रेलरको एउटा पाटोमा उनी सिकिस्त विरामी र अर्को पाटोमा रोमान्टिक अवतारमा प्रस्तुत छन् । अभिनेता सलोन बस्नेतलाई भने कमेडी पात्रको रुपमा देखाइएको छ । 
 
ANMOL KC, SUHANA THAPA
 
झरना थापा निर्देशित फिल्ममा रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सुनिल कुमार थापाले निर्माण गरेको फिल्म आउँदो बैशाख १ गते साउथको ठूलो फिल्म ‘केजिएफ २’सँग बक्सअफिसमा भिडन्त गर्दैछ । जसका कारण फिल्मको ट्रेलर रिलिज कार्यक्रममा निर्माता थापाले आफ्नो मनमा यदाकदा डर पनि रहेको बताए । 
 
‘३ करोडमा बनेको फिल्म ५ सय करोडमा बनेको साउथ फिल्मसँग जुध्दैछ । मलाई यस्तो लागिरहेको छ बैशाख १ गते नेपाल र भारतको फुटबल म्याच हुँदैछ । रंगशालामा फुटबल खेल हुँदा हामी जसरी खेलाडीहरुको हौसला बढाउन झन्डा लिएर जान्छौं त्यसरी नै नेपाली फिल्मलाई साथ र सहयोगको अपेक्षा राखेको छु । दर्शकहरुको साथ भयो भने हामीले अवश्य गोल हान्ने छौं ।’ 
 
अभिनेता अनमोल केसीले भने निर्माता थापालाई नडराउन ढाडस दिँदै प्रतिस्पर्धा गर्नका लागि नेपालबाट क्याप्टेन इशान खड्का (फिल्म ‘क्याप्टेन’मा निर्वाहा गरेको चरित्र) रहेको बताए । उनले कार्यक्रममा भने, ‘कुन फिल्म हेर्ने भन्ने अधिकार दर्शकहरुलाई छ । हामीले पनि राम्रो फिल्म बनाउने प्रयास गरेका छौं । यत्ति चाहिँ भन्छु कि ‘ए मेरो हजुर ४’ नाक खुम्च्याउनु पर्ने फिल्म बनेको छैन ।’
 
मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्मको कथा झरना थापा र छेतन गुरुङले लेखेका हुन् । पटकथा र संवादमा उनीहरुलाई मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । फिल्मको यसअघि ‘सुन्तला’ र शिर्ष गीत सार्वजनिक भइसकेको छ । 
 

Most Visited News (monthly)