.jpg)
एक नाबालिगलाई बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, तनहुँले आदेश दिएको छ । बिहीवार लामो समय चलेको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले शाहलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको हो । अब पल शाहले कारागारमै रहेर कानुनी लडाईं लड्नु पर्नेछ ।
अदालतले जारी गरेको आदेश पत्रमा भनिएको छ, ‘१५ वर्षिय नाबालिगलाई विवाह गर्छु भनी प्रलोभन दखाई जबर्जस्ती करणी गरेको देखिन आएकाले प्रतिवादी पूर्णविक्रम शाहलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को उपदफा (१) को खण्ड (ख) बमोजिम थुनामा राखी पुर्पक्ष गर्ने गरी रीतपूर्वक थुनुवा पुर्जी दिइ कारागार कार्यालय, दमौली, तनहुँमा पठाइदिनु ।’
अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश जारी गरेको छ । जबर्जस्ती करणी मुद्दामा मतियार बनेको अभियोगमा कृष्णमाथि मुद्धा दर्ता भएको थियो । नाबालिगले दिएको जाहेरीका आधारमा तनहुँको सरकारी वकिलको कार्यालयले मंगलवार शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।
नाबालिगले आफूमाथि पटक-पटक करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा फागुन ११ मा किटानी जाहेरी दिएका थिए । फागुन १५ गते उनका बाबुले नवलपरासीमा पनि शाहविरुद्ध जबर्जस्ती करणीको अभियोगमा मुद्धा दर्ता गरेका थिए । तनहुँले २१ दिन र नवलपरासी प्रहरीले पल शाहमाथि ७ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

