नेपालको पुरानो सिनेमा हलमध्ये एक हो, चावहिलमा रहेको गोपीकृष्ण मुभिज । यो हलमा देखिने दर्शकको उपस्थितिले नै देशभर फिल्मको अवस्था कस्तो छ भन्ने सजिलै आँकलन गर्न सकिन्थ्यो । निर्माताले सबैभन्दा बढी शेयर पाउने हल नै यही थियो र यही हलको बार्दलीमा उभिएर धेरै नेपाली कलाकारले आफ्नो क्रेज देखाए । तर, कोरोना महामारीसँगै यो हल बन्द अवस्थामा थियो ।

अहिले गोपीकृष्ण हल भएको ठाउँमा कम्प्लेक्स निर्माण भइरहेको छ । जसका लागि ७ वटा हलमध्ये चारवटा भत्काइएको छ । बाँकी तीनवटा हल भने शुक्रवारबाट सञ्चालनमा आउने भएका छन् । गोपीकृष्ण मुभिजका निर्देशक निरक पौडेलले एक विज्ञप्ति जारी गर्दै ‘चिसो एष्ट्रे’, ‘द कश्मीर फाइल्स’ र ‘आरआरआर’ प्रदर्शन गर्दै तीनवटा पर्दा सञ्चालन गर्न लागेको जानकारी दिएका छन् ।
गोपीकृष्णले रातो, हरियो र नीलो रंगको थिममा विभाजन गरेर ओम, नमः र शिवाय हलको प्रविधि र भौतिक पूर्वाधारमा ठूलो सुधार गर्दै सञ्चालनमा ल्याउन लागेको हो । तीनवटा हलमा पाँच सय सिट क्षमता रहेको विज्ञप्तिमा उल्लेख छ । तीन सय रुपैयाँ टिकट दर कायम गरिएको हलमा शुक्रवारबाट विहान ८ देखि राती ८ बजेसम्म दैनिक १२ वटा शो सञ्चालन हुने बताइएको छ ।
गोपीकृष्ण हल पुनः सञ्चालनमा आउने भएपछि फिल्म क्षेत्रमा खुसी छाएको छ । तर, गोपीकृष्णले पुरानै क्रेज फर्काउनेमा भने धेरैले आकांश व्यक्त गरेका छन् । किनकि, दुई वर्ष बन्द हुँदा गोपीकृष्णमा नियमित फिल्म हेर्ने दर्शकहरु अन्यत्रै हलमा सरिसकेका छन् । जसले गर्दा विगतमा झैँ गोपीकृष्णमा फिल्म हेर्न ओर्लिने दर्शकको भीड उत्साहजनक हुनेमा कमै विश्वस्त छन् ।

