Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मन्त्री आलेले सलमानलाई भने, ‘तपाईंलाई सगरमाथा घुमाउन चाहन्छु’

फिल्मीखबर, काठमाडौं, 2022/03/23
पर्यटनमन्त्री प्रेम आले मगर र बलिउड सुपरस्टार सलमान खानबीच भर्चुअल संवाद भएको छ । आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा हुन लागेको ‘द ब्याङ रिलोडेड टुर’को जानकारी दिन बुधवार काठमाडौंको होटल सोल्टीमा आयोजित एक कार्यक्रममा उनीहरुबीच करीब ७ मिनेट लामो संवाद भएको हो । सलमानलाई ‘नमस्कार’ गर्दै मन्त्री आलेले संवाद थालेका थिए ।
 
प्रेम आलेले सलमानलाई आफू ठूलो फ्यान रहेको अवगत गराउँदै नेपालमा स्वागत गर्न आफू आतुर रहेको बताए । ‘मैले तपाईंको प्रायः फिल्म हेरेको छु । ‘मैंने प्यार किया’, ‘बीवी हो तो ऐसी’ जस्ता फिल्म हलमै गएर हेरेको छु,’ मन्त्री आलेले भने । जवाफमा सलमान खानले ठट्यौली शैलीमा ‘बीवी हो तो ऐसी’ कमै मानिसले हेरेको भएपनि यही फिल्मबाट आफू इन्डस्ट्रीमा आएको बताए ।
 
salman khan
 
मन्त्री आलेले सलमानलाई नेपालमा टिभी शो र फिल्म छायांकनको पनि निम्तो दिए । ‘तपाईंलाई टिभी शो र फिल्म छायांकनका लागि नेपालमा स्वागत गर्न चाहन्छु । संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहणका लागि पनि तपाईंलाई नियन्त्रण गर्न चाहन्छु,’ उनले अगाडि भने, ‘यदी तपाईंको समय भएको खण्डमा माउन्ट फ्ल्याइटमार्फत् माउन्ट एभरेष्ट पनि घुमाउन चाहन्छु ।’
 
मन्त्री आलेको निम्तो स्वीकार गर्दै सलमानले नेपाल आएको समयमा सगरमाथाको अवलोकन गर्ने वाचा गर्दै कथावस्तुले मागेको खण्डमा नेपालमा छायांकन गर्न तयार रहेको पनि बताए । प्रेम आलेले नेपालको पर्यटन प्रवद्र्धनलाई सघाउन ‘द ब्याङ रिलोडेड टुर’ले सहयोग गर्ने आशा व्यक्त गरे । साथै, उनले कोरोनाको तेस्रो भेरियन्टपछि नेपाल खुल्ला भइसकेको पनि जानकारी गराए ।
 
त्यस्तै, सलमानले आफू धेरै वर्षपछि नेपाल आउन लागेको बताए । उनले भने, ‘म ‘बुलन्द’ फिल्मको सुटिङका लागि नेपाल आएको थिए । त्यसैबेला नेपालमै ‘खुदा गवाह’ फिल्मको पनि छायांकन भइरहेको थियो । त्यसपछि नेपाल आउन पाएको थिइनँ । यसअघि ‘दबंग टूर’कै लागि नेपाल आउने तयारी थियो तर विभिन्न कारणले हुन सकेन । अब भने नेपाल आउँदैछु, मेरो टिम नै खुसी छ ।’
 
‘द ब्याङ रिलोडेड’का लागि सलमानसँगै ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, आयुष शर्मा, प्रभु देवा काठमाडौं आउने कार्यक्रम छ । कार्यक्रममा ३० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा आयोजक संस्था ओडीसीले लिएको छ । उक्त कार्यक्रमको लागि अप्रिल १३ मा सलमानका भाइ तथा अभिनेता सोहेल खान काठमाडौं आउने कार्यक्रम रहेको ओडीसीले जानकारी दिएको छ ।
Most Visited News (monthly)