
यही चैत १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हेल्लो जिन्दगी’को रोमान्टिक गीत ‘अनौठो माया’ सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा एड्रिन प्रधान र रजिना रिमालको स्वर रहेको छ । अंग्रेजी र नेपाली शब्दलाई मिश्रण गरेर तयार गरिएको गीतमा अमित श्रेष्ठको संगीत र एभरेष्ट सूर्य बोहोराको शब्द रचना छ ।
अर्जुन प्रसाद अल्बर्टको छायांकन र विष्णु देवाको कोरियोग्राफी तथा सम्पादन रहेको गीतको भिडियोमा फिल्मका नायक विक्रम डि जोशी र नायिका दीपिका प्रसाईं फिचर छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । मंगलवार निर्माण टिमले फिल्ममा समावेश लोक शैलीको अर्को गीत पनि पत्रकारलाई देखाएको थियो । त्यो गीत भने केही दिनमा यूट्युबमा सार्वजनिक हुने बताइएको छ ।
एभरेष्ट सूर्य बोहराको लेखन, निर्माण तथा निर्देशन रहेको फिल्ममा विक्रम र दीपिकाको साथै प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारहरुको अभिनय छ । वास्तविक घटनाबाट प्रभावित भनिएको यो फिल्मको अधिकांश छायांकन बेलायतमा भएको हो ।
त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्मको निर्मातामा विक्रम डि जोशी र हिराल जोशी छन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सह-निर्मात्रीमा सबिता गुरुङ छिन् । फिल्मको कथा लेखनमा निर्देशक बोहरालाई विक्रम डि जोशीले सघाएका छन् । पटकथा तथा संवाद भने बोहरा र अभिमन्यु निरवीले मिलेर तयार पारेका हुन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

