
एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहमाथिको अनुसन्धान प्रहरीले सकाएको छ । जाहेरी परेको चार दिनपछि आत्मसमर्पण गरेका शाहमाथि तनहुँ प्रहरी कार्यालयले अदालतको अनुमतिमा अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान पूरा गरेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा उक्त मुद्धाको मिसिल (फाइल) बुझाएको छ ।
ती नाबालिगले गत फागुन ११ गते तनहुँ प्रहरी कार्यालयमा पल शाहविरुद्ध जाहेरी दिएकी थिइन् । फागुन १५ गते प्रहरीसामु आफैं उपस्थित भएका उनलाई जिल्ला अदालत, तनहुँले पहिलो पटक ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । यसपछि दोस्रो पटक १२ दिन र तेस्रो (अन्तिम) पटक ५ दिनका लागि म्याद थप गरेर प्रहरीले शाहमाथि अनुसन्धान गरेको थियो ।
तनहुँमा अनुसन्धान भइरहेको समयमा जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले पनि पल शाहमाथि अनुसन्धान गरेको थियो । नाबालिगले तनहुँपछि नवलपरासीमा शाहविरुद्ध जाहेरी दिएकी थिइन् । एक हप्ता लामो अनुसन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालयमा मुद्धाको मिसिल बुझाएको थियो । सरकारी वकिलले नवलपरासी जिल्ला अदालतमा शाहविरुद्ध बलात्कारको मुद्धा दर्ता गरिसकेको छ ।
तनहुँको सरकारी वकिलको कार्यालयले एक/दुईभित्रमा अभियोगपत्र तयार गरेर अदालतमा मुद्धा दर्ता गर्ने तयारी गरेको छ । तनहुँ र नवलपरासीको प्रहरी कार्यालयमा नाबालिगले दिएको जाहेरीमा शाहले विभिन्न ठाउँमा पटक-पटक मदिरा सेवन गरेर जबर्जस्ती करणी गरेको उल्लेख छ । पल शाहले भने प्रहरीसँगको बयानमा जबर्जस्ती करणी गरेको कुरा अस्वीकार गरेको बताइएको छ ।

