Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बिहेको तयारीमा नीता र हरिहर !

अन्जान दाहाल, काठमाडौं, 2022/03/19
प्रेमलाई मित्रताको नाम दिएर मिडियाको आँखा छल्न नेपाली कलाकारहरुले ‘डिग्री’ गरेका छन् । तर, मिडियाको अगाडि साथीको सम्बन्ध प्रमाणित गरेर वास्तविक जीवनमा भने उनीहरु प्रेमको विरुवा हुर्कारहेका हुन्छन् । ‘हामी साथी मात्रै हौं’ भनेर हिँड्ने धेरै कलाकारहरु अहिले विवाह बन्धनमा बाँधिसकेका छन् । त्यसैले कलाकारहरुको बोली र व्यवहार पत्याइहाल्नु मुर्खता हुनसक्छ । 
 
अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले पनि प्रेम सम्बन्धलाई मित्रताको नाम दिँदै आएको लामो समय भइसकेको छ । उनीहरुलाई नजिकबाट चिन्ने र जान्नेहरु नीता र हरिहरको प्रेमबारे जानकार छन् । तर, मिडियामा उनीहरु अझै खुलेर प्रेम स्वीकार्न सकिरहेका छैनन् । करिअरमा असर पर्ने डरले हो वा अन्य कारण छ, त्यो भने उनीहरुलाई नै थाहा होला ।  
 
neeta dhungana and harihar adhikari
 
प्रेम स्वीकार गर्न डराए पनि नीता र हरिहरबीच व्यवसायिक सम्बन्ध भने निकै मजवुद बनेको छ । हरिहरकै संगतले धर्मकर्ममा ध्यान दिन थालेकी नीताले हरिहरलाई म्यूजिक भिडियोदेखि टिभी शोसम्म निर्देशन गरिसकेकी छन् । अब यो जोडीले ‘ह्रस्व-दीर्घ’ नाममा फिल्म समेत बनाउँदैछ । तर, यो फिल्म उनीहरुले बिहेपछि मात्र बनाउन लागेको फिल्मीखबरलाई जानकारी प्राप्त छ । 
 
गोप्य स्रोतले दिएको जानकारी अनुसार, हरिहर र नीताले २०७९ सालको साउन महिनामा विवाह गर्ने तयारी गरेका छन् । ज्योतिष भएकाले हरिहरले विवाहको मिति समेत निकालिसकेको जानकारी प्राप्त छ । बैबाहिक जीवनमा बाँधिएको ३/४ महिनापछि मात्र उनीहरुले फिल्मको निर्माण गर्ने सम्भावना रहेको स्रोत बताउँछ । यो रियल जोडीले ‘ह्रस्व-दीर्घ’लाई ठूलो स्केलमा निर्माण गर्दैछ ।
 
निर्देशकको खोजी 
 
केही समयअघि ‘ह्रस्व–दीर्घ’लाई नीता स्वयंले निर्देशन गर्न लागेको खबर बाहिरिएको थियो । यद्यपि, उनले यसबारेमा कुनै पनि जानकारी दिएकी थिइनन् । तर, उनले फिल्मको निर्देशन नगर्ने भएकी छन् । अहिले नीता र हरिहर फिल्मका लागि निर्देशकको खोजीमा छन् । उनीहरुले झरना थापादेखि चन्द्र पन्तसम्मलाई निर्देशनको अफर गरेपनि अझै निर्देशकको टुंगो लाग्न सकेको छैन । 
 
झरनाले निर्देशन गर्न नसक्ने जानकारी दिइसकेकी छन् भने नीता र हरिहरले चन्द्रसँग केही चरण कुराकानी गरेका छन् । चन्द्रले फिल्मको कथावस्तु मन पराए पनि उनले फिल्म निर्देशन गर्ने वा नगर्ने भन्ने आधिकारिक जानकारी दिइसकेका छैनन् । चन्द्रबाट ‘ग्रिन सिग्नल’ नमिलेको अवस्थामा नीता र हरिहरले भारतबाट एक चर्चित निर्देशन झिकाउने तयारी समेत गरेको बुझिएको छ । 
 
‘ह्रस्व-दीर्घ’ हिन्दी र नेपाली भाषामा बनाउने तयारी
 
लभस्टोरी कथामा निर्माण हुने फिल्मलाई हिन्दी र नेपाली भाषामा बनाउने तयारीमा नीता र हरिहर छन् । नेपाल र भारतमा खिचिने फिल्ममा उनीहरु स्वयंको मुख्य भूमिका रहनेछ । यो जोडीले फिल्ममा बलिउडका ‘ए ग्रेड’का कलाकारहरुलाई पनि अभिनय गराउने योजना बनाएका छन् । उनीहरुले बलिउडका केही कलाकारसँग मौखिक सहमति समेत गरिसकेको जानकारी प्राप्त छ । 
 
नीता र हरिहरले फिल्मलाई ओटीटीमा रिलिज गर्नका लागि भारतका केही प्रतिष्ठित ओटीटी प्लेटफर्मसँग निरन्तर कुराकानी पनि गरिरहेका छन् । केही ओटीटी प्लेटफर्मले फिल्मको कन्टेन्टलाई सकारात्मक रुपमा हेरेको बुझिएको छ । फिल्मलाई हलपछि ओटीटी प्लेटफर्ममा रिलिज गर्ने योजना बनाएका हरिहर र नीताले फिल्ममा ६ करोडसम्म लगानी गर्न लागेको स्रोतको भनाई छ ।
Most Visited News (monthly)