Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमालले ‘म राजेश हमाल’ खेल्ने सम्भावना कति ?

फिल्मीखबर, काठमाडौं, 2021/08/29
 
अभिनेता राजेश हमालको नाममाथि बन्न लागेको फिल्म ‘म राजेश हमाल’ को निर्माण नहुँदै राम्रो हाइप बनेको छ । निर्माता केदार भुषालले निर्माण गर्न लागेको यो फिल्म राजेश हमालको जीवनीमा आधारित भएर बन्न लागेको भने होइन । तथापी, उनको जीवनबाट फिल्म ‘इन्स्पायर्ड’ हुनेछ । निर्माता भुषालले फिल्ममा अतिथी भूमिकाका लागि राजेश हमाललाई नै अफर गरेका छन् । 
 
तर, हमालले फिल्ममा काम गर्ने वा नगर्ने विषयमा अहिलेसम्म निर्माण टिमलाई निधो दिइसकेका छैनन् । उनले आफ्नो नाममा फिल्म बनाउन भने अनुमति दिइसकेका छन् । गत वर्ष उनले ४ वर्षपछि फिल्म ‘सत्यम्’ साइन गरेका थिए । यही फिल्मले गर्दा उनलाई ‘म राजेश हमाल’ का लागि समय निकाल्न समस्या भएको छ । हमालले निर्मातासँग केही दिनको समय मागेका छन् ।
 
केदारले फिल्मीखबरसँग भने- ‘समय मिलाउन सकिन्छ कि भनेर अहिले छलफल भइरहेको छ । राजेश सरले ‘फिल्ममा काम गर्न नसक्ने भएँ’ भनेर चाहिँ भनिसक्नुभएको छैन । त्यसैले अझैसम्म सम्भावना देखिरहेको छु । केही दिनमा उहाँले आफ्नो निर्णय दिनुहुनेछ ।’ केही दिनयतादेखि प्रभावित भएको मौसममा सुधार आए भदौ २० गते धनगडीबाट फिल्मको छायांकन सुरु हुनेछ ।
 
विक्रम लामा (जोन योञ्जन) ले निर्देशन गर्ने फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछानेको अभिनय रहनेछ भने अभिनेता आर्यन सिग्देल अतिथी भूमिकामा देखिँदैछन् । राजेश हमालको नाममा यसअघि पनि ‘मेरो राजेश दाइ’ फिल्म निर्माण भएको थियो । यसमा उनी स्वयंले मुख्य भूमिकामा अभिनय गरेका थिए । 
 
तस्बिर : राजेश हमालको फेसबुकबाट
Most Visited News (monthly)