कोरोनाका कारण नेपालमा कुनै क्षेत्र सबैभन्दा बढी प्रभावित छ भने त्यो फिल्म क्षेत्र हो । भीडभाड हुने क्षेत्र भएकाले कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गत वर्ष ९ महिना फिल्म क्षेत्रका गतिविधिमा प्रतिबन्ध लगायो । सरकारले अनुमति दिएपछि बीचमा केही फिल्म प्रदर्शन र निर्माण भए । तर, फिल्म क्षेत्र जुर्मुराउन नपाउँदै कोरोनोको दोस्रो लहर फैलिएसँगै फेरि बन्द भयो ।
संक्रमण रोकथामका लागि गत बैशाखबाट जारी भएको निषेधाज्ञा खुकुलो गराएर सरकारले भीडभाड हुने विभिन्न व्यवसायलाई सञ्चालको अनुमति दिइसकेको छ । तर, फिल्म क्षेत्र खुलाउनेबारे कुनै निर्णय भएको छैन । बरु, फिल्म क्षेत्रमा मात्रै कोरोना लुकेर बसेको झैँ गरेर सिसिएमसीले संक्रमण दर १५ प्रतिशतमा झरेपछि सिनेमा हल लगायतका क्षेत्र खोल्न दिने कार्यविधि बनाएको छ ।

किस्ताबन्दीको कोरोना महामारीका कारण धरासायी र नाजुक अवस्थामा पुगेको फिल्म क्षेत्रलाई पुनःसुचारु गर्न सरकारले कुनै चासो र गम्भीरता नदेखाएपछि फिल्मकर्मीहरुले विभिन्न राजनीतिक दलका शिर्ष नेतालाई भेट गरेर फिल्म क्षेत्रको जर्जर अवस्थाबारे अवगत गराएका छन् । कतिपयले सामाजिक सञ्जालमार्फत फिल्म क्षेत्रलाई अविलम्ब खुलाउन सरकारलाई दबाब दिएका छन् ।
निर्माता तथा हल मालिक नरेन्द्र महर्जनले सिनेमा हलभित्र मात्र कोरोना लुकेर बसेको हो भनेर प्रश्न गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘नेपालमा कोरोना विशेषज्ञहरुको विचारमा कोरोना अब सिनेमा हलमा मात्र बाँकी छ रे ! किनकि लगभग दुई वर्षदेखि बन्द भएकाले सिनेमा हलभित्र कोरोना लुकेर बसेको होला । त्यही भएर सबै व्यवसाय खुले पनि सिनेमा हल खुल्ने तरखर नै छैन ।’
नेपालभन्दा कोरोनाको भयावह अवस्था रहेको भारतमा सिनेमा हलहरु खुलेर हरेक हप्ता नयाँ फिल्म प्रदर्शन हुन थालेका छन् । भलै, फिल्म औसत चलेका हुन् तर दर्शक फर्किने आशमा त्यहाँका फिल्मकर्मीहरु बसेका छन् । तर, नेपालमा अरु क्षेत्र खुले पनि सिनेमा हल बन्दको बन्द नै छ । जबसम्म सिनेमा हल खुलेर फिल्म प्रदर्शन हुन थाल्दैन, तबसम्म फिल्म क्षेत्र चलायमान हुँदैन ।

