
गत वर्ष कोरोना भाइरसको महामारीका कारण ९ महिना बन्द भएर खुलेको फिल्म क्षेत्र संक्रमणको दोस्रो लहर फैलिएसँगै फेरि बन्द भयो । गत बैशाखबाट सरकारले अनिश्चितकालका लागि फिल्म निर्माण र प्रदर्शनमा लगाएको प्रतिबन्ध चार महिना वितिसक्दा पनि फुकुवा हुने छाँटकाँट देखिएको छैन । तर, निषेधाज्ञा खुकुलो भएदेखि एकपछि अर्को फिल्म छायांकनमा निस्किरहेका छन् ।
आउँदो हप्ताबाट दुई फिल्म ‘रीत’ र ‘अञ्जली’ को पनि छायांकन सुरु हुने भएको छ । फाल्गुनन्द लिङदेन फिल्मसले निर्माण गर्न लागेको ‘रीत’ लिम्बु संस्कृतिमा बन्न लागेको हो भने ‘अञ्जली’ हत्याहिंसा र अपहरणमा आधारित हुनेछ । दुवै फिल्मलाई दिनेश लिङ्देनले निर्देशन गर्नेछन् । ‘रीत’ लाई पूर्वका विभिन्न स्थानमा खिचिनेछ भने ‘अञ्जली’ को उपत्यका आसपासमा सुटिङ हुनेछ ।
दुवै फिल्ममा एलिना बासकोटा, विमला खजुम, पुर्व राज्यमन्त्री श्रीप्रसाद जबेगु, स्मृति लिम्बु, असली बनेम, सागर केरुङ, पुन्य ओझा, हाङ चेम्जोङ, दिनेश माङमु, शर्मिला शर्मा, विशाल सेनीहाङ, नन्दु तुम्बापो, नरेश बनेम, निसाम तुम्बापो, प्रज्वलिका गिरी, भीम थेबे लिम्बु, अजय खडका, कल्याण राई, दीपक नेपाली, माइकल तुम्बापो लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
मिकहाङ लिङ्देन र सुदिता लिदेनको प्रस्तुति रहेको ‘रीत’ र ‘अञ्जली’ को निर्मातामा कविता राई लिङ्देन, सागर केरुङ, धनराज खडका, मनि ताम्लिङ, विक्रम पयांगु, दीपक नेपाली रहेका छन् । दुवै फिल्मको कथा सागर केरुङले लेखेका हुन् । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर छायांकन गरिने निर्देशक लिङ्देनले बताए । दुवै फिल्म हाल वर्कसपमा छन् ।

