नेपाली फिल्म क्षेत्रमा कलाकारको अभिनयभन्दा पारिश्रमिकको बढी चर्चा हुन्छ । कुनै कलाकारले नयाँ फिल्म साइन गरेपछि पारिश्रमिकको खोजीनिती सुरु हुन्छ । कतिले फिल्ममा लिएको पारिश्रमिक आफैंले खुलाउने गरेका छन् भने प्रायः यसलाई गोप्य नै राख्न चाहन्छन् । पछिल्लो समय कलाकारहरुले फिल्मसँगै म्यूजिक भिडियो र विज्ञापनबाट समेत राम्रो आम्दानी गर्दै आएका छन् ।
तर, नेपाली कलाकारहरुले आम्दानीको कर बुझाएको भने खासै सुनिएको छैन । न त आजसम्म कसैले आफूले कर बुझाएको नै भनेका छन् । छिमेकी मुलुक भारतमा कलाकारबीच सबैभन्दा बढी कर तिर्न हानाथाप हुँदा नेपालमा भने नाम चलेका कलाकारहरु नै आम्दानीको कर तिर्न आनाकानी गरेको देखिन्छ । कर कार्यालयले पनि कलाकारको आम्दानीमाथि निगरानी गर्न सकेको छैन ।

लामो समयदेखि नेपाली कलाकारले कर नतिर्ने गरेको विषयमा बहस भइरहँदा अभिनेत्री आँचल शर्मा कर तिर्न कर कार्यालय नै पुगेको एक भिडियो यतिबेला सोसल मिडियामा भाइरल भएको छ । उनले बिहीवार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको कार्यालयमा पुगेर आफ्नो आम्दानीको कर तिरेकी हुन् । उनी कर तिर्न पुग्दा कर कार्यालयका कर्मचारीहरु नै चकित परेका थिए ।
अर्थ मन्त्रालयका उपसचिव कर्ण तिमल्सिनाले आफ्नो ट्विटर ह्यान्डलमा ‘एकजना नयाँ करदाता थपियो’ भन्दै आँचल कर बुझाउन पुग्दाको एक भिडियो शेयर गरेका छन् । भिडियोमा उपसचिव कर्णले उनलाई सोधेका छन्, ‘तपाईंलाई हाम्रो अड्डा कस्तो लाग्यो ?’ जवाफमा उनले भनेकी छन्, ‘सर्भिस एकदमै राम्रो छ ।’ कर तिरेर फर्किँदा उनले त्यहाँका कर्मचारीलाई नमस्कार गरेकी थिइन् ।
उक्त १३ सेकेन्डको भिडियोमा सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न खाले प्रतिक्रिया जनाएका छन् । कसैले कर कार्यालयमा सर्वसाधारण जनताले कर तिर्न जाँदा अत्यन्त सास्ती बेहोर्नुपर्ने तर सेलेव्रिटी, पहुँचवाला नेता वा त्यहाँका कर्मचारीका आफन्तले राम्रो सेवा पाउने गरेको गुनासो पोखेका छन् । कसैले भने अड्डा कस्तो लाग्यो भनेर सर्वसाधारणलाई पनि सोध्न आग्रह गरेका छन् ।
एकजना नया करदाता थपीयो !!! pic.twitter.com/Qm8amiy5uY
— Karna Timilsina (@karnatimilsina) August 25, 2021

