Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ओटीटीमा धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’ रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2021/08/27
विश्वभर शुक्रवार सिनेमा हलमा फिल्म रिलिज हुने परिपाटी छ । तर, कोरोना महामारी फैलिएयता नेपालमा यो क्रम रोकिएको छ । गत वर्ष लकडाउनभन्दा अगावै बन्द रहेका सिनेमा हल ९ महिनापछि खुले । संक्रमणको दोस्रो लहर फैलिएसँगै गत बैशाखबाट फेरि बन्द रहेका हल अब कहिलेबाट खुल्छन्, कुनै टुंगो छैन । जसले गर्दा रिलिजका लागि तयार दर्जनौं फिल्म अन्योलमा छन् ।
 
कोरोना महामारीपछि विश्वका ठूला फिल्म उद्योग मानिने हलिउड र बलिउडमा ओटीटी प्लेटफर्म सिनेमा हलको विकल्पको रुपमा उदाएको छ । महामारीका कारण सिनेमा हल बन्द भएपछि त्यहाँका धेरै आशातित फिल्म सिधै ओटीटीमा रिलिज भए । नेपालमा पनि ओटीटी प्लेटफर्म नउदाएका होइनन् । तर, कुनैले नयाँ फिल्म किनेर रिलिज गर्ने साहस र जोखिम उठाउन सकेका छैनन् ।
 
 
यद्यपि, लकडाउनको समयमा केही निर्माताले जोखिम उठाएरै नयाँ फिल्म डिजिटल प्लेटफर्ममा रिलिज गरे । कोरोनाका कारण सिनेमा हल बन्द भएपछि गत वर्ष ‘कोपिला र हिरो रिर्टन्स’ फिल्म डिजिटल रिलिज भएका थिए । गत महिना अर्को फिल्म ‘लभ सर्कल’ पनि डिजिटल रिलिज भयो । यसैक्रममा, शुक्रबारबाट फिल्म ‘म त मर्छु कि क्या हो’ पनि ओटीटीमा रिलिज भएको छ । 
 
हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्देशन, निर्माण र अभिनय गरेको फिल्म ओहो मुभिज एपबाट रिलिज भएको हो । फिल्ममा रवि गिरी, वुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतको पनि अभिनय छ । २ घन्टा लामो फिल्मलाई प्ले स्टोरबाट ओहो मुभिजको एप डाउनलोड गरेर सःशुल्क हेर्न सकिने सितारामले बताए ।
 
एक समयको चर्चित हाँस्यटेलिश्रृंखला ‘मेरी बाँस्सै’ मा सिताराम र कुञ्जनालाई धुर्मुस र सुन्तलीको चरित्रमा दर्शकले निकै रुचाइएका थिए । फिल्ममा पनि सिताराम र कुञ्जना त्यही चरित्र र गेटअपमा देखिएका छन् । तराईका विभिन्‍न स्थानमा खिचिएको फिल्मलाई सुदीप बरालले छायांकन गरेका हुन् । मिलन श्रेष्ठ रहेको फिल्मको स्क्रिनप्ले र डाइलग धुर्मुस-सुन्तली स्वयंले तयार पारेका हुन् ।
Most Visited News (monthly)