
दर्शकले रुचाएको गीतको नाम सापटी लिएर फिल्म बनाउने ट्रेन्ड नेपाली फिल्म क्षेत्रमा निकै चलेको छ । ‘सम्हालिन्छ कहिले मन, म यस्तो गीत गाउँछु, रातो टिका निधारमा, मेरो एउटा साथी छ, काले दाई, कसले चोर्यो मेरो मन’ लगायतका चर्चित गीतको नाममाथि फिल्म बनेका छन् । हिट गीतको नाममा फिल्म बनाउँदा लगानी उठाउन सजिलो हुने विश्वास निर्माता/निर्देशकमा छ ।
यसैक्रममा, अर्को चर्चित गीत ‘सम्झिनी पानी छम्किनी’ नाममा पनि फिल्म बन्ने भएको छ । यस गीतका गायक सम्राट चौलागाईं आफैंले यो नाममा फिल्म बनाउन लागेका हुन् । फिल्मलाई म्यूजिक भिडियोका कोरियोग्राफर विक्रम स्वाँरले निर्देशन गर्ने भएका छन् । गत महिना सार्वजनिक भएको मल्टीस्टारर ‘सम्झिनी पानी छम्किनी’ को तीज भर्सनलाई उनले नै निर्देशन गरेका थिए ।
फिल्मको विषयमा गायक चौलागाँइले भने– ‘दर्शकले यो गीतलाई निकै मन पराउनुभयो । ‘सम्झिनी पानी छम्किनी’ भन्ने लय दर्शकको मुखमा झुन्डिएको छ । यसैले, अब यही नाममा फिल्म बनाउने तयारी गरेका हौं । अहिले फिल्मको स्क्रिप्ट लेख्ने काम सुरु भएको छ ।’ यो गीतको शब्द सम्राट स्वयंको हो । कोरोना महामारी सामान्य भएपछि फिल्मको छायांकन सुरु हुने उनले बताए ।
गायक चौलागाईंंका अनुसार, फिल्मलाई कमेडी जनरामा निर्माण गरिनेछ । म्यूजिक भिडियो मेकिङमा कुनै सम्झौता नगर्ने उनले फिल्ममा मल्टीस्टारर कलाकारलाई लिने बताएका छन् । केही कलाकारसँँग फिल्मको विषयमा छलफल भइरहेको र कोरोना कहर कम भएर सरकारले छायांकन अनुमति दिएपछि फिल्मको पोस्ट प्रोडक्सनको कामलाई अझै तिव्रता दिइने उनले बताए ।

