Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्स ९’ मा सौगात र अनमोलसँगै पुष्प पनि

फिल्मीखबर, काठमाडौं, 2021/08/23
 
नेपालको सबैभन्दा ठूलो एक्सन-थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ मा अहिलेका हटकेक अभिनेता पुष्प खड्काको प्रवेश भएको छ । गत वर्ष नै मौखिक सहमति भए पनि आइतवार मात्र निर्माण टिमले उनीसँग औपचारिक रुपमा कागजी सम्झौता गरेको हो । फिल्ममा पुष्प एक्सन भूमिकामा प्रस्तुत हुने बताइएको छ । यसका लागि उनी केही महिना एक्सनको तालिम लिने तयारीमा छन् ।
 
यो फिल्ममा अभिनेता द्वय सौगात मल्ल र अनमोल केसी पनि अनुबन्ध भइसकेका छन् । अब पुष्पले पहिलो पटक उनीहरुसँग एकसाथ स्क्रिन शेयर गर्नेछन् । फिल्ममा अभिनेता राज कटुवालको पनि अभिनय रहनेछ । केही दिनमा निर्माण टिमले अभिनेता अनुप विक्रम शाहीसँग पनि कागजी सम्झौता गर्दैछ । यसरी हेर्दा फिल्ममा कलाकारको लाइनअप निकै बलियो हुने देखिन्छ । 
 
आउँदो पौषको तेस्रो सातादेखि क्यानडा, यूरोप र नेपालमा छायांकन हुने फिल्मको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन् । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुने् फिल्ममा प्रियंका थापा एकल अभिनेत्री रहनेछिन् । राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र गोकुल कुँवर निर्माता रहेको फिल्मलाई नेटफ्लिक्समा पनि रिलिज गर्ने योजनामा निर्माण टिम छ ।
 
सिरिजको रुपमा निर्माण हुने ‘एक्स ९’ मा भिलेनको भूमिकाका लागि बलिउड स्टारलाई अभिनय गराउने योजनामा समेत निर्देशक भट्ट रहेका छन् । सबैभन्दा पहिला उनको रोजाइमा अभिनेता सुनिल सेट्टी थिए । तर, उनलाई फिल्ममा खेलाउन महंगो पर्ने भएपछि अर्का अभिनेता सोनु सूदलाई अफर गरिएको जानकारी प्राप्त छ । फिल्मको लागत ५ करोड छुने अनुमान गरिएको छ । 
Most Visited News (monthly)