नेपाली फिल्म इतिहासमा सबैभन्दा सफल फिल्म ‘छक्का पञ्जा’ सिरिज हो । यसका तीनवटै सिरिजले कमाइमा नयाँ रेकर्ड बनाएको थियो । नेपाली फिल्मले घरेलु बजारमै यतिसम्म कमाई गर्न सक्छ भन्ने उदाहरण पेश गरेको यो फिल्मका तीनै सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । यसअर्थमा उनलाई नेपाली फिल्म इतिहासकै सबैभन्दा सफल निर्देशक मान्न सकिन्छ ।
.jpg)
उनै, दीपाश्री सोमवार आफ्नो जन्मदिन बनाउँदैछिन् । २०३२ साल भदौ ७ गते विराटनगरमा जन्मिएकी उनी ४६ वर्षकी भएकी छन् । रेडियो नाटकबाट आफ्नो अभिनय सुरु गरेकी उनलाई एक दशकसम्म प्रशारण भएको हास्यटेलिश्रृंखला ‘तीतो सत्य’ ले हास्य कलाकारको रुपमा पहिचान दिलाएको थियो । यसै सिरियलका कलाकार दीपकराज गिरीसँग दर्शकले उनको जोडी निकै रुचाए ।
‘तीतो सत्य’ भन्दा अगाडि दीपाश्रीले ‘गाउँले, चाँदनी, संगिनी’ लगायतमा फिल्ममा पनि अभिनय गरेकी थिइन् । फिल्म ‘गाउँले’ मा समावेश ‘गोली सिसाको’ गीतमा उनले अभिनेता राजेश हमालसँग एकसाथ नृत्य गरेकी थिइन्, जुन गीत आज पनि उतिक्कै लोकप्रिय छ । गत वर्ष लकडाउनमा राजेश हमालको विषयमा दिएको एउटा अभिव्यक्तिले उनी निकै विवादमा तानिएकी थिइन् ।
प्रविधिको विकाससँगै टेलिश्रृंखलाप्रति दर्शकको रुची घटेपछि दीपा र दीपकराजले ‘तीतो सत्य’ सदाका लागि बन्द गरेर पहिलो पटक फिल्म ‘६ एकान ६’ निर्माण गरे । यो जोडीको पहिलो प्रयास नै सफल भयो । त्यसता यो टिमले फिल्म क्षेत्रमा आफ्नो प्रभुत्व जमाएको छ । ‘छक्का पञ्जा’ सिरिजको सफलतापछि दीपक-दीपाको समुह फिल्म क्षेत्रकै सबैभन्दा शक्तिशाली टिम बनेको छ ।
नेपालमा फिल्म निर्देशनमा महिलाको उपस्थिति अत्यन्त न्यून छ । अभिनयसँगै निर्देशनमा पनि पुरुषकै हालिमुहाली रहेको यस क्षेत्रमा दीपाश्रीले आफ्नो अलग पहिचान बनाएकी छन् । आजको दिनमा सफल निर्देशकको रुपमा उनको नाम पुरुष निर्देशकभन्दा पनि अगाडि आउँछ । सफल फिल्मका रुपमा ह्याट्रिक गरेकी उनी उमेरले ४६ वर्षको भए पनि अविवाहित छिन् ।
दीपाश्रीलाई उनका टिमका सदस्यहरुले विशेष रुपमा ‘बर्थ-डे विस’ गरेका छन् । तीन दशकदेखि उनीसँग निरन्तर सहकार्य गर्दै आएका दीपकराज गिरीले दीपाश्रीलाई आफ्नो संसारकै सबैभन्दा जाती साथी भनेका छन् । दीपाश्रीसँँग रेडियो नेपालमा पहिलो पटक भेट भएको सम्झँँदै उनले इश्वरले आर्शिवाद स्वरुप दीपाश्रीलाई साथीको रुपमा पठाएको फेसबुकमा उल्लेख गरेका छन् ।

