Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

कलाकार तथा निर्माता शम्भुराज थापाको निधन

फिल्मीखबर, काठमाडौं, 2021/08/21
 
कलाकार तथा फिल्म निर्माता शम्भुराज थापाको निधन भएको छ । उनको कोरोना संक्रमणका कारण शनिवार विहान ४ः४० बजे उपचारको क्रममा ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको कलाकार हरिवंश आचार्यले जानकारी दिए । तीन हप्ताअघि कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । ५५ वर्षीय थापा तीन दशकदेखि अभिनयमा सक्रिय थिए । 
 
२०४८ सालमा निर्माण भएको फिल्म ‘पुकार’ बाट अभिनय करिअर सुरु गरेका उनले त्यसयता दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरे । राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, गौरी मल्लको मुख्य भूमिका रहेको फिल्म ‘आफ्नो बिरानो’ लाई उनी स्वयंले निर्माण समेत गरेका थिए । यसमा उनको पनि अभिनय थियो । हास्य पात्रको भूमिकामा दर्शकले उनलाई निकै रुचाउने गरेका थिए । 
 
मह संचारको ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’ लगायतका टेलिसिरियलसँगै पछिल्लो समय ‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘गोलमाल’ ‘हल्का रमाइलो’ लगायतका टेलिसियिरयलमा अभिनय गर्दै आएका उनी ‘हल्का रमाइलो’ मा काम गरेपछि ‘बखते’ चरित्रबाट दर्शकमाझ चर्चित थिए । थापाको श्रीमती, एक छोरी र एक छोरा छन् । उनको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।
Most Visited News (monthly)