(1)(1)(2).jpg)
कोभिड-१९ का कारण फिल्म क्षेत्र सबैभन्दा बढी प्रभावित छ । गत वर्ष लकडाउन सुरु हुनभन्दा अगावैदेखि बन्द भएको यो क्षेत्र ९ महिनापछि खुल्यो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै फेरि फिल्म निर्माण, प्रदर्शन र वितरणमा सरकारले रोक लगाएको छ । निषेधाज्ञा खुकुलो भएर अन्य क्षेत्र खुलिसक्दा पनि फिल्म क्षेत्रका गतिविधि खुुलाउने विषयमा सरकारले कुनै चासो दिएको छैन ।
यतिबेला फिल्मकर्मीदेखि दर्शकसम्मको चासो फिल्म क्षेत्र कहिले खुल्छ भन्नेमा छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले यही भदौ १ गतेदेखि लागू गरेको स्मार्ट लकडाउनको कार्यविधिमा कोरोना संक्रमण दर १५ प्रतिशतभन्दा तल झरेपछि स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गर्दै सिनेमा हल, फन पार्क, मेला लगायतका मनोरञ्जन क्षेत्र खोल्न सकिने योजना समावेश गरेको छ ।
संक्रमणको अवस्था हेरेर मुलुकलाई रेड, एम्बर, येल्लो र ग्रीन जोनमा विभाजन गर्ने र हाल २४ प्रतिशतमा रहेको संक्रमण दर १५ प्रतिशतमा झरेपछि मनोरञ्जन क्षेत्र खुलाउन सकिने सीसीएमसीको कार्यविधिमा उल्लेख छ । रेड, एम्बर र येल्लो जोनमा मनोरञ्जन क्षेत्रका गतिविधि भर्चुअलको माध्यमबाट मात्र गर्न दिइनेछ भने हरियो जोनमा पुगेपछि फिल्म क्षेत्रले सञ्चालनको अनुमति पाउनेछ ।
.jpg)
सरकारले भौतिक रुपमा फिल्म क्षेत्रका गतिविधि सुचारु गर्न अनुमति नदिए पनि भित्रभित्रै फिल्म निर्माणको काम भने भइरहेको छ । साउन अन्तिममा फिल्म ‘लाइफ इन एलए’ को छायांकन सकियो । बुधवार (हिजो) अर्को फिल्म ‘आँधी तुफान २’ ले पनि छायांकन पूरा गरेको छ । त्यस्तै, शनिवारबाट निर्देशक शोभित बस्नेतले ‘डाँडाको बरपीपल’ फिल्मको छायांकन सुरु गर्दैछन् ।

