बलिउड फिल्ममा प्रोडक्सन डिजाइनर तथा आर्ट डिरेक्टरको रुपमा काम गर्दै आएका नेपालका अन्जन गजुरेलले आर्ट डिरेक्टर युद्धमा होमिएको सिपाही जस्तो भएको बताएका छन् । बुधबार अस्कर इन्टरनेसनल कलेजका विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै उनले युद्धमा गएको सिपाही हरेक खालेको परिस्थितिका लागि तयार हुनु परे झैँ यो पेशाले पनि सोही खालको चरित्र माग्ने बताए ।
‘धेरैजसो अवस्थामा निर्देशक र क्यामरामेनलाई पनि थाहा हुन्न कि के चाहिएको हो । कहिले काहीँ टेबलमा होमवर्क गरेको कुरा सेटमा परिवर्तन भइदिन्छ,’ उनले अनुभव सुनाउने क्रममा भने- ‘अझ तपाईं अनुराग बसुजस्तो मान्छेसँग काम गर्नुहुन्छ भने त तपाईंलाई कहीँ जगलको बीचमा चोपरले छाडिदिए जस्तो हुन्छ । बाटो पत्ता लगाउने र कहाँ पुग्ने आफैंले निर्क्यौल गर्नुपर्ने हुन्छ ।’
२० वर्षदेखि बलिउडका सिरिज र फिल्ममा काम गरिरहेका अन्जन पहिलो लकडाउन खुकुलो भएलगत्तै ग्यालेक्सी टेलिभिजनले निर्माण गर्न लागिरहेको ‘सारेगम लिटिल च्याम्स’ र ‘को बन्छ करोडपति’ को सेट डिजाइनका लागि नेपालमा आएका थिए । उनले आफूले नेपालमा बनिरहेको सेट डिजाइन हेर्न नपाएको भए पनि विज्ञापन फिल्ममा राम्रो काम भइरहेको महसुस गरेको बताए ।
बलिउडमा रियल लोकेसनमा सुटिङ गर्न अप्ठेरो भएकाले स्टुडियोमा नै सेट लगाउने प्रचलन भए पनि नेपाललाई यसमा सुविधा रहेको उनको भनाई छ । ‘नेपालमा साँच्चिकै लोकेसनमा सुटिङ गर्न सकिन्छ । यो बजेट र फिल्मको लुकको हिसाबले पनि राम्रो हो तर यस्तो ठाउँमा राम्रो आउटपुट निकाल्न निर्देशक, छायांकार र आर्ट डिरेक्टरले राम्रो तयारी गर्नुपर्छ,’ उनको सुझाव थियो ।
सन् २००१ मा स्टारप्लसमा प्रसारण भएको ‘देशमें निकला होगा चाँद’ बाट आफ्नो करिअर सुरु भएको उनले अहिलेसम्म सानाठूला गरी तीन दर्जनभन्दा बढी फिल्म, टेलिभिजन तथा वेब सिरिजमा काम गरिसकेका छन् । उनले पछिल्लो समय अनुराग बसु निर्देशित ‘लुडो’ मा काम गरेका थिए । विद्यार्थीसँग उनले यो फिल्मको सेट निर्माण र डिजाइनको अनुभव पनि सुनाएका थिए ।
अस्कर इन्टरनेसनल कलेजका प्रिन्सिपल रामराजा दाहालले यसपटक अन्जन गजुरेल नेपाल आएको मौका छोपेर विद्यार्थीसँग अन्तक्र्रिया आयोजना गर्न सकेको भए पनि भविष्यमा कलेजमा यो विषय पढाउने गरी नै तयारी गर्न लागेको बताए । ‘प्रोडक्सन डिजाइन पनि फिल्म मेकिङको महत्वपूर्ण हिस्सा हो भन्ने स्थापित हुँदै गएकाले यसलाई कलेजमा नै पढाउने सोच छ,’ उनले भने ।

