
हलिउड फिल्म ‘ब्ल्याक विडो’ फेम्ड अभिनेत्री स्कारलेट जोहानसनले छोरालाई जन्म दिएकी छन् । यो कुराको जानकारी उनका श्रीमान् कोलिन जोस्टले सोसल मिडियामार्फत दिएका हुन् । उनले लेखेका छन्, ‘हामीलाई एक बच्चा भएको छ । हामी उसलाई एकदमै प्रेम गर्छौं ।’ स्कारलेट दोस्रो पटक आमा बनेकी हुन् भने कोलिन पहिलो पटक स्कारलेटको बच्चाको पिता बनेका हुन् ।
स्कारलेटको एक ६ वर्षकी छोरी छिन्, जसको नाम रोज हो । फ्रेन्चम्यान रोमेन डरिकसँगको विवाहपछि उनले छोरीलाई जन्म दिएकी थिइन् । उनीहरुको २०१४ मा विवाह भएको थियो भने २०१७ मा एकअर्काबाट कानुनी रुपमा अलगिएका थिए । रोमेनसँग डिभोर्सपछि स्कारलेट र कोलिनले तीन वर्ष एकअर्कालाई डेट गरेका थिए । २०२० मा यो जोडीले गोप्य रुपमा बिहे गरेको हो ।
स्कारलेट अभिनीत फिल्म ‘ब्ल्याक विडो’ गत महिना सिनेमा घरमा रिलिज भएको थियो । फिल्म रिलिजसँगै उनले अमेरिकाको प्रतिष्ठित कम्पनी डिस्ने स्टूडियोविरुद्ध फिल्मलाई सम्झौता विपरित ओटीटी प्लेटफर्म डिज्ने प्लसमा पनि रिलिज गरेको भन्दै लस एन्जिलिसको अदालतमा मुद्दा हालेकी थिइन् । यो फिल्मले पहिलो विकेन्डमै अमेरिकी ८०.४ मिलियन डलर कमाई गरेको थियो ।

