Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

३१ दिनमा ‘आँधी तुफान २’ को सुटिङ सकियो

फिल्मीखबर, काठमाडौं, 2021/08/19
कोरोनाको दोस्रो लहर फैलिएसँगै सरकारले गत बैशाखमा फिल्म निर्माण र प्रदर्शनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगायो । संक्रमण दर घटेको भन्दै निषेधाज्ञा खुकुलो बनाइएपछि भीडभाड हुने विभिन्न क्षेत्र खुलेका छन् । तर, फिल्म क्षेत्रका गतिविधि सुचारु गर्ने विषयमा सरकारले चासो दिएको छैन । सरकारको उदासिनताले फिल्म क्षेत्र थप धरासायी हुने अवस्थामा पुगेको छ । 
 
सरकारले फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति नदिए पनि भित्रभित्रै फिल्म निर्माणको काम भने भइरहेको छ । केही दिनअघि एक महिनाको सेड्युलमा फिल्म ‘लाइफ इन एलए’ को छायांकन सकियो । बुधवारबाट फिल्म ‘आँधी तुफान २’ ले पनि आफ्नो छायांकन पूरा गरेको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा फिल्मको छायांकन सकिएको निर्माता तथा लेखक मौनता श्रेष्ठले जानकारी दिए ।
 
 
‘अब एउटा गीत खिच्न बाँकी छ । तर, गीत खिच्नै पर्छ भन्ने चाहिँ छैन । गीत नभए पनि फिल्ममा फरक पर्दैन । त्यसैले गीत नखिच्न पनि सकिन्छ,’ निर्माता श्रेष्ठले फिल्मीखबरसँग फोनवार्तामा भने, ‘फिल्मलाई उत्कृष्ट बनाउन कुनै कम्प्रमाइज गरेका छैनौं । फिल्मले दर्शकलाई पूर्ण सन्तुष्टि दिनेमा विश्वस्त छु ।’ काठमाडौं र धुलिखेलमा खिचिएको फिल्मलाई मदन घिमिरेले निर्देशन गरेका हुन् ।
 
चक्र घर्ती मगर निर्माता रहेको फिल्ममा कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, मुकुन्द थापा, पुस्कर राउत, संजय खतिवडा, सिवन लामा, रवि गिरी, सुदीप आचार्य, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय छ ।
 
रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहेको ‘आँधी तुफान २’ ले एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा भन्नेछ । ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको सुपरहिट फिल्म ‘आँधी तुफान’ को १६ वर्षपछि सिक्वेल निर्माण भएको हो ।
Most Visited News (monthly)