Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘खलनायक २’ मा राजेश, विराज र निखिल नदोहोरिने

फिल्मीखबर, काठमाडौं, 2020/12/01
 
निर्माता रोज राणा सन् २००८ को सुपरहिट फिल्म ‘खलनायक’ को सिक्वेल निर्माणको तयारीमा छन् । दशैं अगाडि नै फिल्मको छायांकन सुरु हुने बताइएको थियो । तर, सरकारले फिल्म क्षेत्रका गतिविधि फुकुवा नगर्दा र कोरोनाको संक्रमण सामान्य नहुँदा फिल्मको छायांकन अन्योलमा परेको छ । अब स्थिति सामान्य भएपछि माघबाट छायांकन थाल्ने तयारीमा निर्माण टिम छ ।
 
गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको फिल्मका लागि मुख्य भूमिकामा कलाकार फाइनल भएका छैनन् । ‘खलनायक’ मा विराज भट्ट, निखिल उप्रेती, राजेश हमाल र झरना थापाको मुख्य भूमिका थियो । यसअघि निर्माता राणाले ‘खलनायक २’ मा उनीहरु दोहोरिने सम्भावना प्रवल रहेको बताएका थिए । तर, अब फिल्ममा पुराना कलाकार कोही नदोहोरिने भएका छन् । 
 
‘त्यसबेला मैले चलेका कलाकारहरुलाई लिएर ‘खलनायक’ बनाएको थिएँ । यसको दोस्रो पार्टमा भने पुराना कलाकार कोही दोहोरिने छैनन् । ‘खलनायक २’ का लागि अहिलेका चल्तीका केही अभिनेता/अभिनेत्रीसँग विभिन्न चरणमा कुराकानी भइरहेको छ । उहाँहरु फिल्म गर्न सकारात्मक देखिनुभएको छ । कलाकारको टुंगो लागेसँगै फिल्मको छायांकन सुरु हुनेछ,’ रोजले भने ।
 
रोजका विश्वासिला पात्र मानिने विराज भट्ट ‘खलनायक २’ मा दोहोरिन सक्ने धेरैको अनुमान थियो । उनीहरुबीच फिल्मको विषयमा कुराकानी पनि भएको थियो । तर, रोजले विराजलाई पनि फिल्ममा नदोहोर्‍याउने भएका छन् । लभस्टोरी-एक्सन जनरामा निर्माण हुने फिल्ममा रोज आफैं खलनायकको भूमिकामा प्रस्तुत हुँदैछन् । यसका लागि उनी शरीर बनाउन मेहनत गरिरहेका छन् ।
Most Visited News (monthly)