Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

प्रशान्तको कमब्याक सुखद होला ?

फिल्मीखबर, काठमाण्डौ, 2020/11/30
भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन ३ का विजेता प्रशान्त तामाङले कयौं यादगार नेपाली गीतमा आफ्नो आवाज भरिसकेका छन् । ‘अरे क्यानम, असारे महिनामा, विछोडको करौतीले, सिरिमा सिरी, जाउला रेलैमा, घामको माया, बतासै सरर’ जस्ता गीत गाएर आम नेपालीको मनमा बसेका उनले आफ्नो अभिनय कलाबाट पनि धेरैलाई प्रभावित बनाएका छन् ।
 
उनलाई कुशल अभिनय गर्ने अभिनेताको रुपमा चित्रण गरिन्छ । ‘गोर्खा पल्टन र परदेशी’ जस्तो सफल फिल्म दिएका प्रशान्तले ‘निशानी, धड्कनभित्र, किन मायामा, अंगालो यो मायाको’ फिल्ममा पनि अभिनय गरेका छन् । तर, २०७२ सालमा प्रदर्शनमा आएको फिल्म ‘परदेशी’ पछि रंगीन दुनियाँबाट टाढा भएका उनी करीब ५ वर्षको अन्तरालपछि पुनः अभिनयमा फर्किएका छन् । 
 
 
उनको करिअरको सबैभन्दा सफल फिल्म मानिएको ‘परदेशी’ को सिक्वेलबाट प्रशान्त अभिनय कर्ममा फर्किएका हुन् । बिहीवारबाट यो फिल्मको पाल्पाका विभिन्न स्थानमा छायांकन भइरहेको छ । यही फिल्मको छायांकनका लागि भारतबाट नेपाल आएका प्रशान्तले वर्षौंपछि फिल्मको सेटमा फर्किन पाउँदा खुसी व्यक्त गरेका छन् । उनी फिल्मलाई लिएर निकै उत्साहित छन् ।
 
‘परदेशी २’ मा गायक प्रकाश सपुत मुख्य भूमिकामा अनुबन्ध भएपछि प्रशान्त नदोहोरिने धेरैको अड्कलबाजी थियो । तर, निर्देशक नारायण रायमाझीले आफ्नो ‘लक्की हिरो’ लाई छुटाएनन् । उनले प्रशान्तलाई लिएर बनाएका ‘गोर्खा पल्टन र परदेशी’ ब्लकबस्टर सावित भएका थिए । कलाकारको ठूलो भीड रहेको ‘परदेशी २’ मा प्रशान्तको विशेष भूमिका रहेको बताइएको छ ।
 
प्रशान्त अब अभिनयलाई निरन्तरता दिने सोचमा छन् । तर, यसका लागि ‘परदेशी २’ बक्सअफिसमा सफल हुन आवश्यक छ । यो फिल्मले सफलता हासिल गरेको खण्डमा उनलाई करिअर सहज रुपमा अगाडि बढाउन सहज हुनेछ । अब उनको कमब्याक कति सुखद हुने हो ? यसका लागि भने प्रतिक्षा गर्नैपर्छ । यो फिल्मपछि उनले मिलन चाम्सको ‘गोर्खा वारियर’ मा काम गर्नेछन् ।
Most Visited News (monthly)