सरकारले फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति नदिए पनि दशैंदेखि एकपछि अर्को फिल्मको छायांकन भइरहेको छ । यसबीच, अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री स्टारर फिल्म ‘कृष्ण लीला’ को पनि शुक्रवारबाट छायांकन सुरु भएको छ । अहिले फिल्मको इलामका विभिन्न रमणीय स्थानमा छायांकन भइरहेको छ । इलाम आसपासमा नै फिल्मको सम्पूर्ण छायांकन हुनेछ ।
.jpg)
दीपक ओलीको निर्देशन र लक्ष्मण सवेदीको लेखन रहेको फिल्मको सटिङ ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको गीतबाट सुरु भएको कार्यकारी निर्माता रत्न श्रेष्ठले जानकारी दिए । गीतको भिडियोमा फिल्मका लिड अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री फिचर छन् । निर्माण टिमले सार्वजनिक गरेको गीत छायांकनका तस्विरमा पुष्प र श्रद्धा रोमान्टिक अवतारमा देखिएका छन् ।
अन्जु पन्त र सुगम पोखरेलको स्वरमा समावेश गीतमा अर्जुन पोखरेलको संगीत छ । रामजी लामिछानेले भिडियोको कोरियोग्राफी गरेका हुन् । बाबु श्रेष्ठले खिचेको गीतको भिडियो निकै सुन्दर बनेको लामिछानेले बताएका छन् । आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण लीला’ को निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् ।
.jpg)
फिल्ममा बुद्दि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय छ । सप्तकोशी नदीको किनारमा सेट खडा गरेर फिल्मको छायांकन सुरु गरिएको थियो । पुष्प खड्काले ‘कृष्ण लीला’ मा दर्शकले आफूलाई अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने बताएका छन् । फिल्मलाई लिएर उनी निकै उत्साहित छन् ।

